सिन्धुली : सिन्धुली जिल्लामा खेतमा काटेर सुकाइएको धान निरन्तर वर्षाका कारण भिजेपछि किसान चिन्तित बनेका छन्। तिहार सकिएलगत्तै पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरूलाई दुई दिनदेखिको प्रतिकूल मौसमले ठूलो समस्या पारेको छ।
दुधौली नगरपालिका–१ तल्लो बंका निवासी किसान ध्रुव पहाडीले आफ्नो एक बिगा खेतमा काटेर सुकाएको धान वर्षाले भिजाएर नष्ट भएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “धान काट्ने बेला मौसम सफा थियो, पानी पर्ने कुनै संकेत थिएन, तर अहिले पानी परेपछि सारा मेहनत बर्बाद भयो।”
सिन्धुलीको दुधौली नगरपालिका र कमलाखुँज क्षेत्रमा करिब ९० प्रतिशत किसानले खेतमै काटेर सुकाएको धान राखेका छन्। तर, जल तथा मौसम विज्ञान विभागले शनिबारसम्म वर्षा जारी रहने जनाएकोले चिन्ता अझै बढेको छ।
स्थानीय किसान लक्ष्मी दनुवारले भन्नुभयो, “सबै किसानले धान काटेर अस्रल्ल राखेका छन्, पानीले कुहिने डर छ, चिन्तै चिन्ता छ।”
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार, जिल्लामा यस वर्ष १२ हजार ८६२ हेक्टरमा वर्षे धान खेती गरिएको छ, जसमा ५० प्रतिशतभन्दा बढी खेतमा धान काटिसकिएको छ। उहाँले किसानहरूलाई प्रतिकूल मौसमको कारण दुई दिन धान काट्न रोकिन सुझाव दिएका छन्।
गत वर्ष सिन्धुलीमा १३ हजार ४४५ हेक्टरमा धान खेती भई ५० हजार ११४ मेट्रिक टन उत्पादन भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij