गोरखा : उत्तरी गोरखाका विभिन्न गाउँमा गए रातिदेखि लगातार हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिकाका उच्च भू–भागमा रहेको निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायतका गाउँ हिउँले सेताम्य बनेका छन्।
चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार गए रातिदेखि हल्का पानी परेपछि हिउँ पर्न सुरु भएको हो। “अहिलेसम्म पनि हिउँ परिरहेको छ,” उनले भने, “मान्छेहरू घरभित्र आगो ताप्दै बसेका छन्, चौँरीहरू पनि गोठभित्रै राखिएका छन्।”
त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो तथा वडा नं २ का स्याला, ल्होलगायत गाउँ पनि बाक्लो हिमपातले ढाकिएका छन्।
हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू समेत प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर अग्लो लार्केपास पुग्ने तयारीमा रहेका पर्यटकहरू सामागाउँ र साम्दोमै रोकिएका स्थानीयले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij