कैलाली : टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन् । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रति क्विन्टल रु दुई हजार ५०० मा बिक्री गरेका उनी बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन् ।
“घर खर्चका लागि सस्तोमा पनि धान बिक्री नगरी नहुने भएपछि १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुप-र्यो ।” उनले भने, “खाद्यले समयमा किसानको धान खरिद गरेको भए मैले १० हजार घाटा खाएर धान बिक्री गर्नुपर्ने थिएन ।”
यो पीडा बन्धुरामको मात्रै होइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा अधिकांश किसान मर्कामा परेका छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन् । अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गरेका छन् । भजनीकै अर्का किसान जयप्रसाद ढुङ्गानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको गुनासो गरे ।
कैयौँं किसानले खाद्य संस्थानको पर्खाइमा धान नै भित्र्याएका छैनन् । खेतमै धान थुपारेर केही किसानले खाद्यको बाटो कुरिरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा चासो नदिएपछि किसानहरुको चौतर्फी विरोध हुँदा स्थानीय प्रशासनसहित सरोकारवालाले यथाशीघ्र किसानको धान खरिद गर्न आग्रह गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतका सरोकारवालाको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारी स्वामित्वको खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij