नारायणगढ : सडक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर भरतपुरमा १८औँ विश्व अटिजम सचेतना दिवस मनाइएको छ । हरेक वर्ष विश्वभर अप्रिल २ मा अटिजम सचेतना दिवस मनाइन्छ । सोही अवसरमा अटिजम केयर चितवन सोसाइटीले भरतपुरको वीरेन्द्र क्याम्पस गेटबाट विशालचोकसम्म सचेतना र्याली आयोजना गरको हो । ¥यालीपछि अटिजम भएका बालबालिकाको स्वभाव र आनीबानीका बारेमा सचेतनामूलक सडक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सोसाइटीका अध्यक्ष सुनिलचन्द्र शर्माले जानकारी दिए ।
‘समाजमा अझै पनि अटिजमबारे भ्रम व्याप्त छ । २०७५ सालमा स्थापना भएदेखि नै सोसाइटी यस्तो भ्रम हटाउन क्रियाशील छ’, शर्माले भने, ‘यसवर्षको विश्व अटिजम सचेतना दिवसलाई पनि हामीले मूलभूतरुपमा सोही कार्यमा केन्द्रित गर्यौँ ।’ उनका अनुसार कार्यक्रममा अटिजम भएका बालबालिकाले आफ्ना अभिभावकको सहयोगमा तयार पारेका किरिङ, लकेटलगायत विभिन्न सामग्रीहरुको प्रदर्शनसमेत गरिएको थियो ।
अटिजम जन्मजातै हुने शारीरिक अवस्था हो, व्यक्तिअनुसार यसको तह तलमाथि हुन सक्छ । सामान्यतया जन्मेको १८ महिनापछि कुनै पनि बालबालिकामा आँखा जुधाएर नहेर्ने, परिवारका सदस्य तथा साथीहरुसँग घुलमिल नहुने, एक्लै बस्न रूचाउने, लगातार टोलाउनेजस्ता लक्षण देखिएमा अटिजम भएको आशङ्का गर्न सकिने शर्माको भनाइ छ । त्यस्तो भएमा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श गरेर अटिजम भए/नभएको निक्र्यौल गर्न सकिने उनले स्पष्ट पारे ।
‘हाम्रो सामाजिक सोच र अवस्थाका कारण धेरै अभिभावक आफ्ना बालबच्चाको अवस्थाबारे जानकार हुँदाहुँदै लुकाउन खोज्ने प्रवृत्ति देखिएको छ । कति त हजुरबुबा, हजुरआमा, काका, फुपूलगायतमा पनि यस्तै लक्षण थियो भन्दै बालबच्चाको हेरचाहमा ध्यान दिनुहुन्न’, उनले भने, ‘यो बिलकुलै गलत छ । सोसाइटीले विशेषगरी यही भ्रम चिर्न काम गरिरहेको छ ।’
बाल्यावस्थामै अटिजम भएको निक्र्योल गर्न सकेमा पछि उनीहरुको जीवनयापनमा धेरै सहज हुने उनले प्रस्ट्याए । भरतपुर महानगरपालिकाअन्तर्गत महिला तथा बालबालिका शाखाकी शोभा ढकालले पनि अटिजम भएका व्यक्तिलाई हेर्ने नजर र गरिने व्यवहारलाई आमरुपमै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याइन् । त्यसका लागि जुनसुकै तहको सहयोग र समन्वय गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाइन् ।
पछिल्लो दशक अटिजम भएका व्यक्तिको संख्या बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर प्रत्येक एक सय बालबालिकामध्ये एक जनामा अटिजम देखिएको छ । यद्यपि अटिजम समस्या होइन, यो त एक शारीरिक अवस्थामात्रै रहेको बुझाउन समाजका सरोकार सबै पक्ष लागिरहेको बौद्धिक अपाङ्गता अभिभावक संघ चितवनका अध्यक्ष निर्मलकुमार श्रेष्ठले स्मरण गरे । ‘सबैको साथ भएमा मात्रै हामी अटिजमप्रतिको आमधारणा परिवर्तन गर्न सक्छौँ । अहिलेसम्मको सहकार्य सराहनीय छ’, उनले थपे, ‘यो गतिलाई झनै सशक्त बनाउन जरूरी छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij