भरतपुर : भरतपुर महानगरपालिका वडा नं–२५ मा जापानको योकोसुका सिटीका प्रमुखलाई स्वागत गरिएको छ । जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई स्वागत गरिएको भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले बताए । योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकीसहितको टोलीलाई भरतपुर–२५ को चैतन्यश्वर महादेव मन्दिर शिवालय चोकमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको वडाध्यक्ष सापकोटाले बताए ।
योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकीसहितको टोलीले भरतपुर–२५ मा चैतन्यश्वर महादेव पार्कमा वृक्षरोपणसमेत गराइएको उनले बताए । सो ठाउँमा बृहत् गुरूयोजनासहितको पार्क निर्माण गरिने वडाध्यक्ष सापकोटाले बताए । योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई स्वागत गरिएको कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल रहेकी थिइन् ।
थारु समुदायले आफ्नो भेषभूषासहितको प्रदर्शनीमा जापानबाट आएको टोलीलाई नचाएका थिए । भजनमण्डली समूहको भजनमा जापानी टोली नाचेका थिए । संयोजनको भूमिका निभाएका भरतपुर–२५ का समाजसेवी लोकनाथ ओस्तीले जापानबाट नेपाल घुम्न आउने पर्यटकलाई भरतपुर ल्याउन सकिने बताए । उनले भने, ‘घुमौँ भरतपुरलाई सफल पार्न जापानी पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य हो ।’
भरतपुर महानगरका जनप्रतिनिधिहरु शोमा तिवारी, युवराज चौधरी, चमेली विक, रामहरि पौडेल, विभिन्न टोलका अध्यक्ष, भजनमण्डली टोली, आमा समूह तथा विभिन्न सांस्कृतिक समूहहरुको व्यापक उपस्थितिमा झाँकी, ¥यालीसहित जापानी टोलीलाई स्वागत गरिएको थियो ।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई भरतपुर–२५ का स्थानीयले स्वागत गरेका हुन् । महानगर प्रमुख रेनु दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरेकी छन् । भरतपुर–२५ पुग्नुअघि जापानी टोलीलाई भरतपुर महानगरमा पनि स्वागत गरिएको थियो ।Set featured image
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमणको अवसरमा जापानी टोलीलाई भरतपुर भ्रमणका लागि निम्तो दिएकी थिइन् । भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्य साटासाट गर्ने गरी समझदारी भएको छ । योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij