खैरहनी : खैरहनी नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । नगरवासीको जिज्ञासा र सुझाव समेट्दै आगामी दिनमा कार्यसम्पादन तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन यो आर्थिक वर्षको दोस्रो चौमासिकको कार्यक्रम गरिएको हो ।
कार्यालयको कार्यसम्पादन तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन र कर्मचारी तथा जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन पनि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने गरिन्छ । खैरहनी–२ नम्बर वडा कार्यालयमा आयोजित कार्यक्रममा नगरवासीहरुले केही जिज्ञासासहित सुझावहरु पनि नगरपालिकालाई दिएका छन् ।
कार्यक्रममा सहभागीहरुले सामुदायिक वनलाई व्यवस्थित गर्नुपर्ने, मुख्य राजमार्ग छेउछाउमा राखिएका डिजिटल बोर्डका कारण आवतजावतमा समस्या परेको, पुल, एकान्त ठाउँमा बत्ती, सिसिक्यामेराको व्यवस्था गर्नुपर्ने, पर्सा चोकको प्रहरी बिट व्यवस्थित गर्नुपर्ने, ऐलानी जग्गाको संरक्षण गर्नुपर्ने, सहजरुपमा सूचना प्राप्त गर्न पाउनुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी रोक्नुपर्ने, विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्नुपर्नेलगायत सुझाव तथा जिज्ञासा राखेका थिए ।
सहभागीमध्येबाट राम भण्डारी, विमल मोक्तान, गोकर्ण थपलिया, कमलप्रसाद पाण्डे, सरिता अधिकारी, विजय पाण्डे, सोमबहादुर पाण्डे, मुकुन्द मोक्तानलगायतले आआफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख शशिकुमार खनियाले नियम, कानुनको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले कतिपय क्षेत्राधिकार बाहिरको काम गर्न नसक्ने हुँदा जनतामा प्रश्न उठ्नु स्वाभाविक रहेको बताए । तथापि नगरपालिकाले आफ्नो सीमित स्रोतसाधनका बाबजुद नगरवासीको इच्छा र चाहनाअनुसार काम गरिरहेको बताए ।
‘नगरवासीका इच्छा र चाहना असीमित हुन्छन्, त्यो सबै एकैपटक पूरा गर्न सकिँदैन’, प्रमुख खनियाले भने, ‘नगरपालिकाको क्षमता, सीमित स्रोतसाधनले दीगो विकाससँग जोडेर काम गरिरहेको छ ।’ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म गरेका कार्यसम्पादन तथा शाखागत प्रगति विवरण प्रस्तुत गरेका थिए ।
उनले यो अवधिमा चालूतर्फ ४४ दशमलव १३ प्रतिशत तथा पुँजीगततर्फ ४४ दशमलव ०१ प्रतिशत काम गरेको बताए । यो अवधिमा नगरपालिकाले विभिन्न शीर्षकमा आन्तरिक स्रोततर्फ १० करोड ४६ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ । चितवन स्टार मिडिया प्रालिको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख शशिकुमार खनियाले गरेका थिए भने कार्यक्रममा उपप्रमुख कविता उप्रेती, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij