Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

किसान आयोगप्रति किसानको गुनासो

किसान आयोगप्रति किसानको गुनासो

चितवन : किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बुधबार यहाँ आयोजना गरेको छलफलका सहभागी किसानले आयोगलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् । नेपाल किसान महासङ्घ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोगले सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले किसानका समस्या समाधानमा आयोगले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । केरा उत्पादक किसान जनकराज पन्तले किसानको सूचीकरणका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन माग गर्नुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले अहिले नेपालमा २० लाख ७१ हजार १०६ कृषकले सूचीकरणका लागि आवेदन दिएका जानकारी दिनुभयो । बागमती प्रदेशमा तीन लाख २९ हजार ८७६ जना किसान छन् ।

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद पोखरेलले किसानका समस्याप्रति संवेदनशील हुन आयोगलाई आग्रह गर्नुभयो । मकवानपुरका जिल्ला समन्वय समिति प्रमुख ललित घलानले किसानका समस्या समाधानका लागि आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले किसानका समस्या समाधानका लागि आयोगले सरकारलाई सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट