Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चार दशक कृषि अनुसन्धानमा बिताएका डा. खत्रीलाई कर्णालीको योजना बनाउने जिम्मेवारी

चार दशक कृषि अनुसन्धानमा बिताएका डा. खत्रीलाई कर्णालीको योजना बनाउने जिम्मेवारी

सुर्खेत : साउन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्री नियुक्त भएका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका–४ का खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।सरकार फेरबदल हुनेबित्तिकै योजना आयोगका पदाधिकारी पनि बदलिने परम्परा छ, जसका कारण एउटा आयोगको टोलीले ल्याएको विकास मोडल कार्यान्वयन हुन नपाउँदै अर्को मोडल तयार हुन्छ ।यसअघि योजना आयोगका उपाध्यक्ष रहेका सूर्यनाथ योगीको टोलीले दोस्रो पञ्चवर्षीय गुरुयोजना तयार पारेको छ । तर कार्यान्वयन गर्न नपाउँदै सरकार परिवर्तन भयो ।

को हुन् नवनियुक्त उपाध्यक्ष खत्री ?
नवनियुक्त उपाध्यक्ष डा. खत्री नेपालका एक वरिष्ठ कृषि वैज्ञानिक हुन् । साथै, उनी बागवानीविद् तथा प्राध्यापक पनि हुन् ।विशेषगरी नेपालमा आलुबालीको अनुसन्धान, प्रविधि विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना तथा बागवानी क्षेत्रमा उनी चार दशकदेखि सक्रिय छन् ।उनले नेपाल कृषि अनुसन्धान परिषद्को नेतृत्वदायी तहमा रहेर नीति निर्माण, अनुसन्धान योजना तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीहरूको प्राज्ञिक निर्देशकका रूपमा समेत सक्रिय छन् ।वि.सं. २०१४ फागुन ३ मा जन्मिएका उनले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका थिए ।

फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट (सन् १९९३–१९९५) कृषि (बागवानी)मा स्नातकोत्तर गरेका उनले स्नातक भने त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस, चितवनबाट (सन् १९७९–१९८२) गरेका थिए ।उनी सन् २०२१ देखि हालसम्म बागवानी विषयका प्राध्यापक छन् । त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय (चितवन)का स्नातकोत्तर तथा विद्यावारिधि तहका शोधार्थीहरूको मुख्य सल्लाहकार र शोध निर्देशकको रूपमा कार्यरत छन् ।

उनीसँग नेपाल कृषि अनुसन्धान परिषद्मा रहँदा देशभर रहेका ६१ वटा अनुसन्धान केन्द्रहरूका समग्र अनुसन्धान तथा प्रशासनिक आयोजनाहरूको योजना तर्जुमा, समन्वय र अनुगमनको केन्द्रीय नेतृत्व गरेको अनुभव पनि छ ।उनी सन् २०१६ देखि २०१७ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको संयोजक थिए । उनले खुमलटार, ललितपुरमा राष्ट्रियस्तरको आलु अनुसन्धान, उन्नत जात विकास तथा मूल बीउ उत्पादनसम्बन्धी कार्यक्रमहरूको समग्र नेतृत्व, राष्ट्रिय/अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय र संस्थागत व्यवस्थापन गरेका थिए । साथै, सन् २०१५ देखि २०१६ सम्म बागवानी अनुसन्धान केन्द्र, दैलेखको प्रमुख रहेर उनले काम गरेका थिए ।

सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको वरिष्ठ वैज्ञानिक रहेर करिब २१ वर्ष आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधि प्रवर्द्धन, अन्तर्राष्ट्रिय आलु केन्द्रलगायत विभिन्न विश्वस्तरीय संस्थाहरूसँगको सहकार्यमा अनुसन्धान परियोजनाहरूको सफल सञ्चालन तथा किसान उपयोगी प्रविधि विकासमा खत्रीको योगदान छ ।उनले स्विस विकास तथा सहयोग नियोगअन्तर्गत राष्ट्रिय आलु विकास कार्यक्रममा रही मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी तथा तराई भेगमा कृषक समूह गठन, बीउ आत्मनिर्भरता र अनुसन्धान परीक्षण कार्यको नेतृत्व पनि गरेका थिए ।

कृषि विभागअन्तर्गत खुमलटारमा बालीका रोग पहिचान तथा नियन्त्रण र जिल्ला कृषि विकास कार्यालय, रौतहटमा प्रमुख भई बाली उत्पादन कार्यक्रमको जिम्मेवारी पनि निभाएका उनीसँग नीतिगत, परामर्श तथा परियोजना मूल्याङ्कनको अनुभव पनि छ ।संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मा विज्ञ परामर्शदाताका रूपमा उनले कोभिड–१९ महामारीपछिको सामाजिक–आर्थिक पुनरुत्थान तथा कृषि उत्पादन चक्र प्रवर्द्धनसम्बन्धी कार्य गरेका थिए । यसअघि उनी कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट गठित ‘बजेट खर्च तथा कार्यान्वयन कार्यविधि छानबिन समिति’को संयोजक पनि थिए ।

नेपाल सरकारद्वारा सञ्चालित ‘कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम’ (सन् २००२–२००५) तथा विश्व बैङ्कको सहयोगमा सञ्चालित ‘कृषि तथा खाद्य सुरक्षा आयोजना’ (सन् २०१४–२०१७)को संयोजक भई नेपाल कृषि अनुसन्धान परिषद्मा वैज्ञानिकहरूको तर्फबाट प्रतिनिधित्व गरेको अनुभव पनि उनीसँग छ ।उनले हेफर इन्टरनेसनल, विनरोक इन्टरनेसनल, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी), युरोपेली सङ्घ, प्राक्टिकल एक्सन, गुड नेबर्स इन्टरनेसनललगायत निकायहरूद्वारा सञ्चालित कृषि, गरिबी निवारण र खाद्य सुरक्षा परियोजनाहरूको स्वतन्त्र मूल्याङ्कन टोली प्रमुख भई कार्य सम्पादन पनि गरेका छन् ।

खत्रीले विभिन्न विश्वविद्यालयका शोधार्थीहरूलाई विद्यावारिधि तहको अनुसन्धानमा मार्गदर्शन गरेका छन् भने विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धान जर्नलहरूमा परियोजना प्रस्ताव तथा वैज्ञानिक लेखहरूको समीक्षकका रूपमा पनि संलग्न छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान जर्नलहरूमा आलु, तरकारी, फलफूल तथा जलवायु अनुकूलनसम्बन्धी दुई दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।उनी नेपाल कृषि वैज्ञानिक समाज, एग्रिकल्चर कन्सर्न्ड सोसाइटी (नेपाल) र नेपाल बागवानी समाजका आजीवन सदस्य हुन् ।

उनीसँग नेपालका ६४ जिल्लाहरूको स्थलगत अध्ययन तथा प्राविधिक भ्रमणसहित अस्ट्रेलिया, भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), नेदरल्यान्ड्स, पेरु, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, बङ्गलादेश, कम्बोडिया र हङकङलगायत १७ विदेशी राष्ट्रको भ्रमण गरेको अनुभव छ ।कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अहिले उनै कृषिविज्ञ खत्रीलाई कर्णालीको योजना तर्जुमाको जिम्मेवारी सुम्पेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट