Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सोमेश्वरगढीमा यसवर्ष पनि रामनवमी मेला लाग्ने

सोमेश्वरगढीमा यसवर्ष पनि रामनवमी मेला लाग्ने

माडी : नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा यसवर्ष पनि रामनवमी मेला लाग्ने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र २६ गते १० दिनसम्म रामनवमी अर्थात् चैते दसैँ मेला लाग्ने भएको हो ।

लाखौँ श्रद्धालु भक्तजनहरुले सोमेश्वरगढीमा रहेको कालिका मन्दिरमा पूजा तथा दर्शन एवं बलि दिने गरेका र यसवर्ष पनि अघिल्लो वर्षभन्दा अधिकरुपमा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहने अपेक्षा गरिएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए ।

पूजा र मेलाको व्यवस्थापनअन्तर्गत समितिले सोमेश्वर कालिका मन्दिरसम्मै पानीको व्यवस्था, औषधि उपचारको प्रबन्ध, सरसफाइ, प्रसाद व्यवस्थापन र पङ्क्तिबद्ध आवतजावतको प्रबन्ध गरिएको छ । बर्सेनि लाखौँ भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित गरिएको छ ।

पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगाउन भन्दै बनाएको सो गढी नेपाल–भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्र हो । यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्न भक्तालुको निकै चहलपहल हुने गर्छ । यो क्षेत्रमा पुगेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास पनि छ । सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो ।

अध्यक्ष पोखरेलका अनुसार यहाँका आदिवासी थारु समुदाय समयमा पानी नपर्दा कालिका मन्दिरमा पुगेर पूजा गर्थे, मनोकाङ्क्षा पूरा भएपछि बलि चढाउँथे । ‘दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत अहिले जीर्ण भएको छ । नयाँ मन्दिर निर्माणका लागि पहल गरिरहेका छौँ’, अध्यक्ष पोखरेलले बताए । दसगजा क्षेत्र भएकाले यहाँ सोचेअनुसार विकास गर्न नसकिएको उनको भनाइ थियो । ‘कोही मन्दिर हेर्न, कोही सीमास्तम्भ हेर्न आउँछन्, कोही यो उचाइबाट देखिने दृश्यहरु हेर्न आउँछन्’, उनले भने, ‘यहाँबाट देखिने सुन्दर हिमश्रृङ्खलाले पर्यटकहरु मोहित भएको पाउँछु ।’

घना जङ्गलसहितको चुरे पर्वतमा रहेको सोमेश्वरगढी चरा अवलोकनका लागि पनि प्रख्यात मानिन्छ । राष्ट्रिय निकुञ्जले घेरिएको माडी उपत्यकामा दर्जनौँ साना खोलानालाहरु दक्षिणबाट उत्पन्न भई उत्तरतिर बगेका छन् । भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढी माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकार जम्मा गरेर ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएको छ । यो नेपाल र भारतको सीमा पनि हो, जहाँ सोमेश्वर कालिकाको मन्दिर छ ।

चैते दसैँ र ठूलो दसैँमा यहाँ मेला लाग्छ । साना गाडी र मोटरसाइकल सहजरुपमा गढीसम्म पुग्छन् । लुम्बिनीमा जस्तै यहाँ पुराता¤िवक वस्तुहरु पाइन्छन् । मूर्ति स्थापनापछि यहाँ आन्तरिक पर्यटक बढेका छन् । यहाँबाट माडी र भरतपुरलाई हेर्न सकिन्छ । समुद्री सतहबाट १३०० मिटरमा रहेकोले त्यसलाई पाल्पाका राजा मंगलसेनले गढी बनाएको भनिन्छ ।

सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुङ्गामाटाका आकृतिहरु फेला पर्ने गरेको छ । नेपाल र अङ्ग्रेजबीच लडाइँको समयमा अङ्ग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो । तर, पछि पानीको समस्याले गर्दा सेनालाई त्यहाँबाट उपरदाङगढी सारिएको इतिहास छ । लिच्छवि शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका थिए ।

सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यो क्षेत्रमा नेपाल–भारतको ४५ नम्बर सीमास्तम्भ छ । यही पर्वत श्रृङ्खलामा सोमेश्वरगढी पर्छ । पाल्पाका राजा मुकुन्द सेनले अङ्ग्रेजबाट बचाउन यो गढी निर्माण गरेका थिए । बसन्तपुर बजारबाट सोमेश्वरगढी फेदी करिब ११ किमीको दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट