Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अर्गानिक तरकारी उत्पादनतर्फ बढ्दै किसान : भरतपुर–२५ मा विषादीरहित उत्पादन तालिम

अर्गानिक तरकारी उत्पादनतर्फ बढ्दै किसान : भरतपुर–२५ मा विषादीरहित उत्पादन तालिम

भरतपुर : भरतपुर महानगरपालिकामा व्यावसायिकरुपमा अर्गानिक तरकारी उत्पादन गर्ने किसान क्रमशः बढ्दै गएका छन् । भरतपुर–१५, श्रीपुरका चन्द्रप्रसाद अधिकारीले व्यावसायिकरुपमा विषादीरहित तरकारी तथा खाद्यबाली उत्पादन गर्न सुरू गरेपछि क्रमशः यसतर्फ किसान बढ्न थालेका हुन् । अधिकारी दुई दशकदेखि अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन गर्दै आएका छन् ।

भरतपुर–२५ का छविलाल न्यौपानेले आठ वर्षदेखि व्यावसायिकरुपमा विषादीरहित तरकारी उत्पादन गरिरहेका छन् । उनका अनुसार भरतपुर महानगरमा पछिल्लो समय अर्गानिक तरकारी उत्पादन गर्ने व्यावसायिक किसान बढ्दै गइरहेका छन् ।

‘भरतपुर महानगरमा १५ जना किसानले व्यावसायिकरुपमा अर्गानिक तरकारी उत्पादन गरेका छन्’, न्यौपानेले भने । उनले भरतपुर–२५ र २८ वडामा १६ बिघामा अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन गरिरहेका छन् । उनले उत्पादन गरेको तरकारी जर्मन निर्यात भइरहेको छ ।

‘गाजर र चुकन्दर म जर्मन पठाउँछु, अर्गानिक तरकारीहरु पोखरा, काठमाडौँ जान्छ । बारीबाटै धमाधम बिक्री भइरहेको छ’, उनले भने, ‘भरतपुर महानगरमा उत्पादित सम्पूर्ण तरकारी तथा खाद्यबालीहरु विषादीरहित हुनुपर्छ भन्ने अभियानमा लागेको छु ।’ न्यौपानेले निजी जग्गामा र भाडाको जग्गामा अर्गानिक तरकारी उत्पादन गरेर बेचबिखन गरिरहेका छन् ।

‘भाडामा लिएको जग्गाको माटो सुधार गर्न तीन वर्ष लाग्यो, रासायनिक मलले माटो बिगारेको थियो, अहिले ती जग्गामा पनि अर्गानिक उत्पादन राम्रो छ’, न्यौपानेले भने, ‘हाम्रो जमिनको माटो रासायनिक मलले बिगारिसकेको छ, पहिला माटो सुधारौँ ।’ जैविक जीवाणु र कम्पोष्ट मलहरु प्रयोग गरेर माटो सुधार गर्न सकिने उनले बताए ।

माटोमा सुधार भएपछि अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन गर्न लागत कम पर्छ । रासायनिक मल प्रयोग गरेको बारीको तुलनामा उत्पादन पनि बढी हुन्छ । किसान न्यौपानेले अहिले अर्गानिक लौका, सिमी, करेला, मकैलगायतका बालीहरु उत्पादन गरिरहेका छन् । अर्गानिक तरकारीलाई बजारको कुनै समस्या छैन । भाउको पनि चिन्ता छैन । बारीबाटै धमाधम बिक्री भइरहेको उनले बताए ।

उनको बारीमा एग्रोभेटका कुनै किटनाशक औषधि पर्दैनन् । रासायनिक मल पर्दैन । यसको साटो जैविक जीवाणु र कम्पोष्ट मल प्रयोग हुन्छ ।

‘रासायनिक मल पनि विष नै हो, यो हाल्न छोडौँ । कम्पोष्ट मल प्रयोग गरौँ, एक–दुई वर्ष उत्पादन कम हुन सक्छ’, उनले भने, ‘यहाँ रासायनिक मल नहाली उत्पादन हुँदैन भनेर किसान डराइरहेका छन् ।’

भरतपुर–२३, जगतपुरका राजकुमार तामाङ, भरतपुर–६, केशरवागका मोहनसिंह गुरुङले पनि व्यावसायिकरुपमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छन् । क्रमशः अर्गानिक तरकारी तथा खाद्यबालीमा किसानहरु थपिँदै गइरहेको न्यौपानेले बताए ।

यसैबीच, भरतपुर महानगरपालिका वडा नं–२५ ले वडाभरि नै अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन गर्ने उद्देश्य राखेर विषादीरहित तरकारी तथा खाद्यान्न उत्पादनका लागि किसानलाई तालिम दिएको छ । तालिम लिएपछि किसानले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले जानकारी दिए ।

कुहिएर खेर जाने वस्तुबाट मल उत्पादन गर्ने तरिका पनि किसानलाई सिकाइएको थियो । ‘हाम्रा भान्सा विषादीयुक्त भए, प्रत्येक गाँसमा मन्द विष पेटभित्र परिरहेको छ, अबका हरेक खाद्य उत्पादन विषादीरहित हुनुपर्छ’, वडाध्यक्ष सापकोटाले भने, ‘अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन गर्नका लागि किसानलाई सचेतनासहितको तालिम दिइएको हो ।

४० जना किसानलाई चार दिनसम्म तालिम दिइएको थियो । ‘विषादीले माटो बिग्रिँदै गएको छ, माटोको उर्वराशक्ति जोगाउन पनि कम्पोष्ट मलको प्रयोग आवश्यक भयो । त्यसैले, कम्पोष्ट मल बनाउने तालिमसमेत दियौँ’, वडाध्यक्ष सापकोटाले भने । किटनाशक औषधि र रासायनिक मललाई क्रमशः कम गर्दै लैजाने वडाको नीति रहेको वडाध्यक्ष सापकोटाले बताए ।

‘वडा कार्यालयले किसानहरुलाई अर्गानिक उत्पादनमा जोड्न जैविक विषादी, झोल मल प्रयोग गर्ने ज्ञान र सीप दिएको हो’, भरतपुर–२५ का स्थानीय समाजसेवी केशव बसेलले भने, ‘तालिमपछि जमिनको उर्वराशक्तिमा वृद्धि हुनुका साथै अर्गानिक उत्पादन गर्ने किसान पनि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट