Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कालिका नगरपालिकामा जलवायु उत्थानशील कार्यक्रम, पर्याप्त बजेट विनियोजन गर्न माग

कालिका नगरपालिकामा जलवायु उत्थानशील कार्यक्रम, पर्याप्त बजेट विनियोजन गर्न माग

भरतपुर : गैसस महासंघ नेपाल चितवन शाखाले स्थानीय तहसँग जलवायु उत्थानशीलमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेको छ । कालिका नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुलाई राखेर आयोजना गरिएको कार्यक्रममा गैसस महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरे दवाडीले जलवायु उत्थानशीलमा पर्याप्त बजेट विनियोजन गर्न माग गरिन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणका लागि सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले जलवायु परिवर्तनका असरलाई ध्यान दिएर नै उत्थानशीलमा बजेट विनियोजन गरिरहेको बताए । उनीहरुले आगामी दिनमा बजेट वृद्धि गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

कार्यक्रमकी प्रमुखअतिथि कालिका नगरपालिका नगर उपप्रमुख विमला तामाङले जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न वार्षिकरुपमा बजेट विनियोजन भइरहेको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘सीमित बजेटको घेराभित्र बसेर विनियोजन गरिन्छ, जलवायु उत्थानशीलमा बजेट विनियोजन भइरहेकै छ ।’ उनले कहीँकतै बजेट कम भएको खण्डमा आगामी दिनमा बढाउने प्रतिबद्धतासमेत जनाइन् । ‘आगामी वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनले पार्ने असरमा केन्द्रित भएर कार्ययोजना बनाउँछौँ’, उनले भनिन्, ‘जलवायुमैत्री कानुन र संरचना निर्माणमा लाग्नेछौँ ।’

कार्यक्रममा गैसस महासंघ नेपालका स्रोत व्यक्ति दीपक रेग्मीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए । स्थानीय तहले जलवायु उत्थानमा बजेट विनियोजन नगरे भविष्यमा विकराल अवस्था आउने बताए । उनले भने, ‘हिमालको हिउँ पग्लेर कालो पहाड देखिन थालेका छन् । बाढीपहिरोको जोखिम बढ्दै छ । नयाँ–नयाँ सङ्क्रामक रोगहरु देखा पर्दैछन्, जसले मनुष्यको प्राण जोखिममा पार्ने क्रम बढ्दै गएको छ । यसरी जलवायु परिवर्तनले हाम्रो जीवनमा नराम्रो असर पारेको छ ।’

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अधिकृत ऋषि सुवेदीले जलवायु परिवर्तन मानवसिर्जित गतिविधि र प्राकृतिक प्रकोपबाट हुने बताए । उनले राज्यका हरेक निकायहरु गम्भीर भएर जलवायु उत्थानशीलमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्षहरु वीरेन्द्र तामाङ, लक्ष्मण पौडेल, नीलकण्ठ मगर, टीकाराम रेग्मी, चित्रबहादुर मगर, कार्यपालिका सदस्यहरु शान्ति महतो, लक्ष्मीकुमारी ढकाल, सम्झना परियार, भूपुकुमारी रानाभाट, ज्योति सुनारलगायतको उपस्थिति रहेको थियो ।

यस्तै, वातावरण शाखाका राजेश कोइराला, शिक्षा तथा खेलकुद शाखाका रामप्रसाद अधिकारी, बालबालिका शाखाबाट सम्झना ढकाल, आर्थिक विकास शाखाबाट प्रकाशचन्द्र पौडेल, स्वास्थ्य शाखाबाट लक्ष्मण पोखरेल, पूर्वाधारबाट किशोर खतिवडा, प्रशासन शाखाबाट शिवप्रसाद पोखरेलको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन गैसस महासंघ चितवनका सचिव रामचन्द्र आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट