गोलाघाट : भरतपुर–२८ मा रहेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले पर्यटन र वन्यजन्तु संरक्षणका लागि विभिन्न कार्यलाई अघि बढाएको छ । यस वनमा जङ्गली जनावर प्रशस्त देख्न पाइने भएपछि जङ्गल सफारीका लागि आउने पर्यटकको आकर्षण बढेको छ ।
गोलाघाटमा नारायणी नदी र राप्ती खोला मिसिन्छन् । त्यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटकहरु जाने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती तथा भौतिक संरचनाहरु नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन । त्यहाँबाट क्षितिजसम्म निकुञ्जको जङ्गल, होचा पहाड र बग्दै गरेको नदीमात्रै देखिने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशाल कुमालले बताए ।
श्री राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनले बनाएको तीनतले टावरमा चढेर वा दोभानमा पुगेर सूर्यास्त हेर्न सकिन्छ । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको ठाउँ त्यसै आकर्षक लाग्छ । नदीमा बसाइ सरेर आउने चराहरु देख्न सकिन्छ । गैँडालगायत जङ्गली जनावरहरु किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ । यो क्षेत्रमा ठूला होटलहरु खुल्न थालेकाले आफ्ना पाहुनाहरुलाई सूर्यास्त देखाउन दोभानमा लैजाने गरेको अध्यक्ष कुमालले बताए ।
सामुदायिक वनजङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले राप्ती नियन्त्रण सामुदायिक वनमा गत वर्षदेखि जिप सफारी सञ्चालनमा आएकोले पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्य राखिएको बताए । उनले भने, ‘यो ठाउँ सबै कुराले भरिपूर्ण छ, त्यसैले यहाँँ पर्यटकीय गतिविधि अझै चलायमान बनाउँदै यसलाई दोस्रो सौराहाको रुपमा विकास गर्नुपर्दछ ।’ पौने नौ लाखको लागतमा गोलाघाट गेट र टिकटघर बनाइएकोले गोलाघाट आइल्यान्ड, लौखरी र स्वर्गद्वारी घोल संरक्षण गर्न आवश्यक रहेको, बस्तीमा वन्यजन्तुको त्रास बढेका कारण गोलाघाट क्षेत्रमा सिसी क्यामेरा, फ्री वाइफाइ, सोलार बोरिङ चाहिएको उनले बताए ।
सफारी पर्यटनका लागि नेपालको मह¤वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । पहिले पहिले चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले जगतपुर र मेघौलीतिर आकर्षित हुन थालेका छन् । यी क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ । जिप सफारी सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय चहलपहल बढेको छ । जिप सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । बढी मात्रामा आन्तरिक पर्यटकको आगमन हुने गरेको उनले बताए ।
राप्ती नदीको किनार क्षेत्र हुँदै जाने जिप सफारीमा पर्यटकले समुदायिक वनभित्रको रमणीय वनस्पति तथा वन्यजन्तुहरु, एकसिङ्गे गैँडा, बाघ, भालु, बाँदर, हात्ती, चित्तल, मयूर, बँदेल, मृग, विभिन्न प्रजातिका चरा आदिको अवलोकन गर्न सक्छन् । यहाँ बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म जङ्गल सफारी हुने गर्दछ । यस वनमा सफारीका लागि ४ वटा जिप सञ्चालित छन् । करिब डेढदेखि २ घन्टासम्म जिप सफारी गर्न सकिन्छ । जिप सफारीका लागि प्रतिखेप ५ देखि ७ हजार रूपैयाँसम्म लिने गरिएको भन्दै नेचर गाइड हरिगोविन्द कुमालले यस सामुदायिक वनमा मासिक करिब दुई हजार पर्यटक जिप सफारी गर्न आउने बताए ।
यहाँ गोलाघाट र अन्द्रौलीमा रहेका दुईवटा प्रवेशद्वारबाट जङ्गल सफारीका लागि जान सकिन्छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भरतपुर भ्रमण वर्ष–२०२४ ले समेत ठूलो टेवा पुगेको उनको भनाइ छ । यहाँ आउने पर्यटकले जिप सफारीबाहेक हात्ती सफारी र डुङ्गा सयर पनि गर्छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकहरु पश्चिम चितवनतर्फ आकर्षित हुन थालेको अध्यक्ष कुमालले बताए । उनका अनुसार सौराहाजत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणीकिनार बन्दै गएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij