Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

महिलालाई सीपमूलक तालिम दिलाउँदै लायन्स : माडीको शितलपुरमा समापन, सिधुवामा उद्घाटन

महिलालाई सीपमूलक तालिम दिलाउँदै लायन्स : माडीको शितलपुरमा समापन, सिधुवामा उद्घाटन

माडी : नारायणगढ लायन्स क्लबअन्तर्गत लायन जीतबहादुर पिया व्यावसायिक तालिम केन्द्रले माडीका विभिन्न स्थानमा महिलाहरुलाई सिलाइकटाइ तालिम दिँदै आएको छ । यही क्रममा सोमबार नवौँ समूहको तालिम समापन गर्दै दसौँ समूहको तालिम शुभारम्भ गरिएको छ । विपन्न तथा न्यून आय भएका महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले करिब तीन वर्षदेखि माडीका विभिन्न वडा तथा टोलहरुमा निःशुल्क तालिम आयोजना गर्दै आएको केन्द्रका संरक्षक शान्तकुमार पियाले जानकारी दिए ।

सोमबार माडी नगरपालिका वडा नं–४, शितलपुरको समूहको तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । ४० जना सहभागी तालिममा भरत परियार र सविना महतोले प्रशिक्षण दिएका थिए । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका सेकेन्ड भाइस गभर्नर प्रभाकर पण्डितले तालिम लिइसकेपछि सिकेको सीपलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको सुझाव दिए ।

‘तालिम लिएपछि प्राप्त प्रमाणपत्रलाई सिरानीमा राखेर लुकाउने होइन, त्यसलाई सबैले देख्ने गरी व्यवहारमा उतार्ने हो’, उनले भने, ‘कम्तीमा छिमेकीको विवाहमा जाँदा चाहिने कपडा आफैँले सिउन सक्ने बन्न सक्नुपर्छ ।’ आफूले सिकेको सीपलाई सदुपयोग गर्दै एक जनाले तीन जना छिमेकीलाई सिकायो भने ती तीन जनाले पनि जीवननिर्वाह गर्न सक्ने हुँदा त्यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर दीनानाथ न्यौपानेले अभावयुक्त स्थान र समाजमा आवश्यकताअनुसारको सेवा गर्नकै लागि क्लबको स्थापना भएको बताए । क्लबमार्फत महिलाहरुलाई जीवन जिउन सहज बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हुँदा तालिमको मर्म बुझेर आगामी दिनमा यसैलाई पेसा बनाउन सकिने उनले बताए । ‘यही पेसालाई जीवननिर्वाह गर्ने माध्यम बनाउन सकिन्छ’, उनले भने, ‘त्यसका लागि सके आफैँले व्यवसाय सञ्चालन गर्ने र नसके जागिर गर्नकै लागि पनि सीप सिकिसकेकालाई समस्या छैन ।’

लायन्स क्लबमार्फत क्लबमा आबद्ध सदस्यहरुले आफ्नै गाँस काटेर व्यावहारिक सीप र ज्ञानमा प्रयोग गर्नका लागि निःशुल्क तालिमको आयोजना गरेको क्लबका अध्यक्ष राजु पियाले बताए । ‘हामीलाई कहीँबाट बजेट आएर त्यसलाई सदुपयोग गर्न आएका होइनौँ, सबै सदस्यहरुबाट सङ्कलित रकमले तालिम आयोजना गरेका हौँ’, उनले भने, ‘त्यसकारण तालिमको मह¤व बुझेर यसलाई व्यवहारमा लागू गरिदिनुभयो भने हामीले तालिम दिलाएको सार्थक हुनेछ ।’

नवौँ समूहको तालिम समापनपछि माडी नगरपालिका वडा नं–४ कै सिधुवामा दसौँ समूहलाई दिने तालिमको उद्घाटन गरिएको हो । ४० जनाभन्दा बढी सहभागी हुने तालिमको समन्वय गर्दै आएका स्थानीय अगुवा श्रीकृष्ण महतोले जानकारी दिए । तालिमले धेरै महिलालाई आत्मनिर्भर बनाउनमा टेवा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट