Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘मेघौली र गोलाघाट उत्कृष्ट पर्यटकीय गन्तव्य’

‘मेघौली र गोलाघाट उत्कृष्ट पर्यटकीय गन्तव्य’

गोलाघाट : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौली, गोलाघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन महानगर लागेको बताएकी छन् । भरतपुर–२८, गोलाघाटमा आयोजित श्री राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित गोलाघाट स्वागत गेटको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी र राप्तीको दोभानमा रहेको गोलाघाट सूर्यास्त अवलोकनका लागि उत्कृष्ट रहेको बताइन् ।

‘विकासको पहिलो खुड्किलो भनेको सडक पूर्वाधार नै हो, सडक सञ्जालले जनताको जीवनस्तर सुधार्न मद्दत गरेको छ । हिजोका दिनमा भरतपुर बजारबाट मेघौली जान छ घन्टा लाग्थ्यो, जान र आउनमै एकदिन बित्ने गरेकामा अहिले आधा घन्टामै पुगिन्छ, यसको प्रत्यक्ष लाभ यहाँका नागरिकलाई पुगेको छ’, मेयर दाहालले भनिन् ।

उनले कुनै समय भरतपुरभन्दा पनि मेघौली विमानस्थल स्थापित रहेको, टाइगर टप्स होटल हुँदासम्म त्यो राम्ररी चलिरहेकोमा मेघौली विमानस्थलमात्रै नभएर टाइगर टप्स नै बन्द भएको भन्दै पश्चिम चितवनका बासिन्दाले विमानस्थल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरिरहेको बताइन् ।

भरतपुरले विकासको जुन लय पक्रिएको छ, भोलिका दिनमा यो लयलाई निरन्तरता दिन सक्यौँ भने यो उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको भन्दै उनले सडक पूर्वाधारमात्रै नभई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा सन्तुलित विकासको खाकाअनुसार अघि बढेको बताइन् ।

पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्ला वर्षहरुमा उल्लेख्य फड्को मारेको र भरतपुरमा देशकै सबैभन्दा ठूलो ८८ किलोमिटरको रिङरोड निर्माणको काम तीव्र गतिमा भइरहेको उनको भनाइ थियो । ‘दस करोड रूपैयाँको लागतमा रिङरोडको काम भइरहेको छ’, उनले भनिन्, ‘थप तीन करोड रूपैयाँ बजेट आएको छ रिङरोडका लागि ।’ नारायणीमा तटबन्ध गरेर मेघौलीलाई सुरक्षित बनाइएको समेत उनले बताइन् ।

श्री राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशाल कुमालले यो क्षेत्र प्राकृतिक हिसाबले सुन्दर भएकाले पर्यटकीय गतिविधि अझै चलायमान बनाउनुपर्ने बताए । उनले भने, ‘यो ठाउँ सबै कुराले भरिपूर्ण छ, त्यसैले यहाँँ पर्यटकीय गतिविधि अझै चलायमान बनाउँदै यसलाई दोस्रो सौराहाको रुपमा विकास गर्नुपर्दछ ।’

पौने ९ लाखको लागतमा गोलाघाट गेट र टिकटघर बनाइएको भन्दै उनले गोलाघाट आइल्यान्ड, लैखरी र स्वर्गद्वारी घोल संरक्षण गर्न आवश्यक रहेको बताए । गोलाघाट क्षेत्रमा सिसी क्यामेरा, फ्री वाइफाइ, सोलार बोरिङ आवश्यक रहेको भन्दै बस्तीमा वन्यजन्तुको त्रास बढेको उनले बताए ।

मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका निवर्तमान अध्यक्ष श्याम अधिकारीले पश्चिम चितवन र नवलपुर जोड्न व्यवस्थित पुल बन्नुपर्ने बताए । गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने भन्दै उनले निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर तथा रमणीय गोलाघाटमा नारायणी नदी र राप्ती खोला मिसिएर अगाडि बढ्ने हुँदा गोलाघाटमा सूर्यास्तको दृश्य लिन स्थानीय तथा पर्यटक आउने बताए ।

निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकहरु पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भूषालले बताए । उनका अनुसार सौराहाजत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणीकिनार बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट