चितवन : जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय समाचार समिति (रासस) प्रति विश्वसनीयता बढ्दै गएको बताएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भरतपुरमा आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धन’ विषयक अन्तरक्रियामा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
रासस भरतपुर कार्यालयद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकारीले सञ्चारकर्मीहरुले मूल्यसहितको स्वतन्त्रताको वकालत गर्नुपर्ने धारणा सुनाए । निजी क्षेत्रलाई विकासको सहयात्री बनाउनु पर्ने उनको भनाइ थियो ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघको बागमती प्रदेश महासचिव राधेश्याम खतिवडा, जिल्ला शाखा अध्यक्ष वसन्त पराजुली, उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, पूर्वअध्यक्ष कृष्ण भण्डारी, रासस चितवनका पूर्वप्रमुख गणशेखर शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखा अध्यक्ष तुलमान गुरुङले आफ्ना विचार राखेका थिए ।
सेवाग्राहीहरुको तर्फबाट बोल्दै चितवन पोष्ट दैनिकका गोविन्द अर्याल र लोकतन्त्र सन्देशका सन्तोष देवकोटाले राससको सेवा लिएका कारण पत्रिका भर्न सहज भएको बताए । एटुजेड समाचारका प्रधानसम्पादक सूर्यप्रकाश कँडेलले राससका समाचारमा देखिने भाषागत त्रुटिमा सुधारको खाँचो औँल्याए ।
रासस, भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा पत्रकारहरु हेमराज रिमाल, प्रतिमा सिलवाल, अनिल ढकाल, सूर्यप्रसाद अधिकारी, समीर चापागाईंले पनि आफ्ना सुझावहरु राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij