भरतपुर : पहिलो चरणको यात्रा सकेर नेपाल फर्किएका भरतपुरका युवा रोशन लामिछानेले विश्व साइकल यात्राको दोस्रो चरणको यात्रा तय गरेका छन् । गत असारमा काँकडभिट्टाबाट बङ्गलादेशको यात्रा गरेर २५ दिनपछि नेपाल फर्किएका रोशनले पाकिस्तानको यात्राबाट दोस्रो चरणको यात्रा तय गरेको बताएका छन् । पाकिस्तानका लागि उनी आज बुधबार चितवनबाट बिदाइ हुँदैछन् ।
विश्व साइकल यात्रामार्फत वृक्षरोपण र रक्तदानको नारालाई विश्वव्यापी बनाउने लक्ष्य लिइएको उनले बताए । उनका अनुसार अबको यात्रा पाँच वर्षको हुनेछ । ‘बीचमा नेपाल फर्किनुपर्ने अवस्था नआएमा एकैचोटि यात्रा सकेर फर्किन्छु’, उनले भने, ‘पाकिस्तानबाट अफगानिस्तान, तुर्किमिनिस्तान हुँदै एसियाली मुलुकको यात्रा सकेपछि मध्यपूर्व, युरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलियालगायत १९६ मुलुकको यात्रा हुनेछ ।’
पहिलो चरणको यात्रा भने छोटो भएको उनले बताए । बङ्गलादेशमा चर्किएको आन्दोलनका कारण योजनाअनुसार यात्रा गर्न नपाउँदै नेपाल फर्किनु परेको उनले बताए । दोस्रो चरणको यात्रालाई भने सम्पन्न गरेपछि मात्रै नेपाल फर्किने योजना रहेको यात्रामा निस्किनुपूर्व उनले जानकारी गराए । ‘बङ्गलादेशमा चर्किएको आन्दोलनका कारण पहिलो चरणको यात्रा छोट्याउन प¥यो’, उनले भने, ‘नेपाल फर्किएपछि पनि विभिन्न कारणले समयमै यात्रा गर्न सकिएन ।’ त्यसकारण निर्धारित समयमै यात्रा सकाउने गरी निस्कन लागेको उनले बताए ।
यात्राकै क्रममा एक देशबाट अर्को देशको यात्रा गर्ने अनुमति लिँदै अघि बढ्ने उनले बताए । ‘कतिपय मुलुकको भिसा प्राप्त भइसकेका छन् । बाँकी मुलुकको भिसा प्रक्रिया यात्राकै क्रममा मिलाउँदै जाने छु’, उनले भने । खर्च व्यवस्थापनका लागि विभिन्न ठाउँबाट सहयोग लिइएको उनले बताए । बसाइका लागि भने नजिकको रेडक्रस सोसाइटीसँग समन्वय गर्ने उनले बताए । ‘खाना र बस्नका लागि सकेसम्म सबै मुलुकमा नजिकको रेडक्रससँग समन्वय हुनेछ’, उनले भने, ‘त्यसबाहेक विभिन्न क्लबहरुबाट पनि सहयोग लिन सकिन्छ ।’
गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नंं–९, शरदपुर निवासी उनी चितवनसँगै नेपालको परिचय बोकेर विश्व साइकल यात्रामा निस्किएका हुन् । ‘साइकल चलाएरै विश्व घुम्ने र नेपालको परिचयलाई थप सघाउने कुरामा म विश्वस्त छु’, उनले भने, ‘यहाँभन्दा अघिका अग्रजहरुले विभिन्न माध्यमबाट चिनाइसक्नुभएको छ, त्यसमै थप बल पु¥याउने हो । त्यसका लागि वृक्षरोपण र रक्तदानलाई मुख्य लक्ष्य बनाएको छु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij