Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कालिकाका पर्यटकीय गन्तव्यमा चहलपहल : ‘शक्तिखोर सौराहापछिको पर्यटकीय क्षेत्र बन्न सक्ने’

कालिकाका पर्यटकीय गन्तव्यमा चहलपहल : ‘शक्तिखोर सौराहापछिको पर्यटकीय क्षेत्र बन्न सक्ने’

भरतपुर : चितवनको कालिका नगरपालिकाका पर्यटकीय गन्तव्यमा चहलपहल बढ्दो छ । कालिका नगरपालिकाका पर्यटकीय गन्तव्यहरु सिन्ती झरनादेखि कालिका भगवतीमाईसम्म, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्गसम्म पर्यटकहरुको चहलपहल देखिएको छ ।

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले कालिका नगरका प्रमुख पयर्टकीय गन्तव्यमा पर्यटकहरुको चहलपहल बढिरहेको बताए । उनका अनुसार पर्यटकहरुलाई आकर्षित गर्नका लागि नगरपालिकाले पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको छ ।

‘कालिकाको शक्तिखोर बजार पनि पर्यटकीय गन्तव्य हो, यो बजार सौराहापछिको अर्को प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ’, नगरप्रमुख रेग्मीले भने, ‘चेपाङ समुदायको आर्थिक अवस्थालाई बढाउन चिउरी, चमेरो र चेपाङ कार्यक्रम अगाडि बढाएका छौँ, यहाँका चिउरीले समेत पर्यटक लोभ्याइरहेका छन् ।’

गएको साता कालिका भगवतीमाई नवनिर्मित मन्दिरको समुद्घाटन भएको प्रमुख रेग्मीले बताए । उनले भने, ‘हजारौँ मानिसको उपस्थितिमा मन्दिरको उद्घाटन गरियो, सोही मन्दिरको नामबाट कालिका नगरपालिकाको नामकरण भएको हो ।’ उनले आकर्षक मन्दिरले समेत कालिकामा पर्यटक लोभ्याउने बताए ।

‘शक्तिखोरस्थित पहाडी क्षेत्र पर्यटकीय दृष्टिले मह¤वपूर्ण छ । यहाँको प्राकृतिक छटाले जोकोहीलाई लोभ्याउँछ । विगतमा पूर्वाधारको अभाव र प्रचारप्रसार कम हुँदा शक्तिखोरको पहाडी क्षेत्र ओझेलजस्तो परेको थियो’, नगरप्रमुख रेग्मीले भने, ‘तर अहिले यहाँ सडक निर्माणदेखि अन्य भौतिक पूर्वाधारसम्म पूरा भएको छ ।’

शक्तिखोरलाई केन्द्र मानेर यसवरपर झन्डै १० करोडको बजेट भौतिक पूर्वाधारमा लगाइएको छ । .शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटकसमेत भिœयाउने र सौराहापछिको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना कालिका नगरपालिकाले बनाएको छ ।

कालिका नगरपालिकाभित्र पर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामनाको उपरदाङगढी र सिराइचुली, रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर पर्यटन विकास गर्न सकिन्छ ।

‘विगतमा कालिकाका पर्यटकीय गन्तव्यमा पुग्न सडक पूर्वाधारको अभाव थियो, अहिले समस्या छैन । सबै ठाउँमा सडक पुगेका छन्, खानेपानी र बिजुली लगभग सबै भेगमा छ । तीन स्टारसम्मका होटल, लजहरु खुलेका छन्’, नगरप्रमुख रेग्मीले भने, ‘नगरका पर्यटकीय क्षेत्र देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ तथा लोतौतीमा पर्यटन सडक निर्माण भएका छन् ।’ उनले कालिका नगर नै पर्यटकीय गन्तव्य रहेकाले योजना बनाएर नमुना विकासको मोडेललाई अघि सारेको बताए ।यसबाहेक नगरका भीमवली बाबा, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फ¥याङका प्राकृतिक छटाहरुले पनि पयर्टक लोभ्याइरहेका छन् ।

यहाँको चेपाङ संस्कृतिलाई पनि पर्यटयसँग जोड्न सकिन्छ । पहाडी क्षेत्रमा रहेका चेपाङको रहनसहनले पनि पर्यटकलाई लोभ्याउँछ । पहाडमा फुलेका चिउरीबाट मह निकाल्न कालिकाको सिद्धिस्थित प्रत्येक घरमा देशभरका किसान आउँछन् ।यहाँको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । कालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । गर्मी मौसम लागेसँगै झरनामा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । कालिका नगरपालिकाको ११ नं वडामा रहेको वाङ्थलामा पछिल्लो समय पदमार्ग बनेको छ । पहाडी रहनसहन हेर्दै वाङ्थला पुग्दाको क्षण अत्यन्तै रमाइलो छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट