Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘खानेपानीमा भरतपुर महानगरको उच्च प्राथमिकता’

‘खानेपानीमा भरतपुर महानगरको उच्च प्राथमिकता’

चितवन  : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको बताएकी छन् । भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौँ साधारण सभा तथा प्रथम अधिवेशन समारोहमा बोल्दै उनले भरतपुरमा ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुगेको बताइन् ।

उनले विकट मानिने २९ नम्बर वडाको कविलासदेखि भरतपुरको सघन सहरी क्षेत्रमा समेत पानीको पर्याप्त व्यवस्थाका लागि दर्जनौँ आयोजना सञ्चालन भइसकेको र कतिपय निर्माणको चरणमा रहेको बताइन् । प्रमुख दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पु¥याउने गरी काम भइरहेको जानकारी दिइन् । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकहाँ पानीको पहुँच पुग्ने बताउँदै उनले भनिन्, ‘हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्व नै शतप्रतिशत उपभोक्ताकहाँ पानी पु¥याउँदै छौँ ।’

२०७८ वैशाख ३१ मा ठेक्का सम्झौता भई २०८० जेठ ८ मा निर्माण सकिएको शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत ३७ करोड ९९ लाख ४७ हजार ३ सय १६ रहेको छ । शर्मा एण्ड कम्पनीले निर्माण गरेको यस आयोजनामा पानीको परीक्षण ल्याब, कम्प्युटरबाट नै समस्या र लिकेज पत्ता लगाउन सकिने व्यवस्था छ । डिप ट्युबेल ६ वटा, पानी प्रशोधन केन्द्र २ वटा, ४५० घनमिटरका २ वटा ओभरहेड ट्याङ्की, आफ्नै सुविधासम्पन्न भवनलगायतका संरचना तयार गरिएका छन् ।

भरतपुर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन भैरहेका छन् । ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगर र मिलडाँडामा सञ्चालन भइरहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१६, १७, १९, २० र २१ का ३६ सय ५२ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसहित २६४ किमी क्षेत्रफलमा १२५ मिटर गहिरो ६ वटा डिप बोरिङको माध्यमबाट चौबिसै घन्टा खानेपानी सेवा उपलब्ध गराउने संस्थाकी अध्यक्ष शान्तमाया गुरूङ बताउँछिन् ।

शारदानगरमा सञ्चालित परियोजना सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ३ प्रतिशत भरतपुर महानगर एवं २ प्रतिशत उपभोक्ताबाट व्यहोरिने प्रावधान छ ।

कार्यक्रममा भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ, भरतपुर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घले, स्थानीय समाजसेवीहरु तोपमान गुरूङ, चन्द्रध्वज गुरूङ, पूर्ववडाध्यक्ष कर्णबहादुर गुरूङ, महिला नेतृ तथा सहकारीकर्मी तारा गुरूङ, समाजसेवी विष्णु ढकाल, शहीद स्मृति कलेज शारदानगरका प्रिन्सिपल वसन्त पौडेल, संस्थाकी सचिव रत्नमाला गुरूङ, समाजसेवी तुलाराम गुरूङ, वडा सदस्य चेतनारायण गैरे, राजकुमार गुरूङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट