चितवन : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको छैटौँ वार्षिकोत्सव सम्पन्न भएको छ । ‘विविधतामा एकता’ भन्ने नाराका साथ विद्यालय परिसरमा भव्यताका साथ आयोजना गरिएको वार्षिकोत्सव दुई दिनसम्म मनाइएको हो । अतिरिक्त क्रियाकलापका लागि प्रसिद्ध चितवनको ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी र अभिभावकहरुको सहभागतिमा पहिलो दिन र कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा अभिभावकहरुको सहभागितामा दोस्रो दिन गरी दुई दिनसम्म मनाइएको वार्षिकोत्सवमा दुई दर्जनबेसी विभिन्न जातजातिका नृत्यहरू प्रदर्शन गरिएको थियो । विद्यार्थीले विभिन्न विधाका नृत्य, संगीत र नाटकहरुसमेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा विद्यार्थीका चित्रकला प्रदर्शन गरिएको थियो । कार्यक्रममा धारणा राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष गणेश पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन र बहुपक्षीय गतिविधिहरुमा निरन्तर प्रगति गर्दै आइरहेको र अहिलेको युगमा बालबालिकाहरुलाई किताबी ज्ञान दिएर मात्र नहुने भन्दै उनीहरुलाई जीवनोपयोगी सीप, नेतृत्व विकास र नैतिक मूल्यहरुको विकासका लागि पनि विद्यालय क्रियाशील रहेको बताए । उनले विद्यार्थीहरुले कक्षागत परीक्षादेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गरिमा बढाएको दाबी गरे । नेपाल आर्मीसँग सम्बन्धित राष्ट्रिय सेवा दलअन्तर्गतको एनसिसी तालिममा समेत विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेको र विद्यार्थीहरुले अनुशासन, नेतृत्व, र राष्ट्रप्रेमको भावना मजबुत बनाएको उनले बताए ।

वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रममा प्रमुखअतिथिको रूपमा आमन्त्रित प्रा.डा. नन्दबहादुर सिंहले शिक्षाको गुणस्तरीयता प्रदान गर्न विद्यालयले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई नवीनतम प्रविधि र सीपमूलक शिक्षामा जोड दिनुपर्नेमा बताए । उनले ‘क’ वर्गको स्कुल हुनुको नाताले विद्यालयले विद्यार्थीको चौतफी विकासका लागि अझै नवीनतम प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले चितवन जिल्ला शैक्षिक विकासमा विस्तारै अघि बढिरहेको बताउँदै अङ्कुरम् एकेडेमी कक्षागत र तहगत परीक्षाका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको बताए । दोस्रो दिनको कार्यक्रमका प्रमुखअतिथि भरतपुर महानगरका मेयर रेनु दाहालले ‘स्वास्थ्य हब’को रुपमा विकास भइरहेको भरतपुर महानगर ‘शैक्षिक हब’समेत बन्ने बाटोमा अघि बढेको बताइन् । उनले यस विद्यालयका गतिविधिहरु आफूले विभिन्न सञ्चार माध्यमहरुबाट थाहा पाउँदै आएको बताउँदै उनले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत विद्यार्थीले भाग लिएको र विदेशी ‘प्लाटफर्म’हरुमा पनि भरतपुर महानगरभित्रका विद्यार्थी पुरस्कृत भएको सुन्न पाउँदा साँच्चिकै खुशी लाग्छ ।’

शिक्षाको स्तरवृद्धिका लागि विद्यालयले खेलेको भूमिकोको प्रशंसा गर्दै प्रमुखअतिथि दाहालले अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका एक सय शीर्ष विद्यालयभित्र पर्ने सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘विद्यार्थी र विद्यालयको चौतर्फी विकासका लागि यहाँहरुले प्रयास गरिरहनु भएको छ, त्यसका लागि अझै थप प्रयास गर्नुपर्छ ।’अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका शीर्ष एक सय विद्यालयहरूमा पर्ने सम्भावना रहेको भन्ने प्रमुखअतिथि दाहालको भनाइलाई आत्मसात् गर्दै विद्यालयका प्रचार्य सुमन पौडेलले भने, ‘दृढतापूर्वक हाम्रो सामूहिक जोस र समर्पणका साथ यो केवल सपना मात्र नभई वास्तविकतामा परिणत गर्न हामी क्रियाशील हुनेछौँ ।’ विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, र आमन्त्रितहरुको बाक्लो उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य प्राचार्य पौडेलले राखेका थिए भने विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij