Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

देवघाट महामहोत्सवको २५औं दिन : चर्चित संचारकर्मी तथा कलाकारको उपस्थिति

देवघाट महामहोत्सवको २५औं दिन : चर्चित संचारकर्मी तथा कलाकारको उपस्थिति

चितवन : देवघाट महामहोत्सव २५औं दिनमा प्रवेश गर्दा, धार्मिक उल्लास झनै चुलिएको छ। अब केवल ५ दिन बाँकी रहेको यस महामहोत्सवमा दशौं हजार भक्तजनहरूको उपस्थितिमा देवघाट दिव्यधामको शिलान्यास पूजा सम्पन्न गरिएको छ।

आजको विशेष कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, चर्चित नायिका झरना थापा, तथा चलचित्र निर्माता सुनिल थापा लगायतको सहभागिता रह्यो। यी सबै विशिष्ट अतिथिहरूले महामहोत्सव, मातापिता सेवाश्रम र देवघाट दिव्यधाम निर्माण अभियानको खुलेर प्रशंसा गरे।

वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी तथा उनकी धर्मपत्नीले देवघाट दिव्यधाम संस्थाको आजीवन सदस्यता ग्रहण गरे। यसैगरी, नायिका झरना थापाले पनि आजीवन सदस्यता लिएर यस पवित्र कार्यमा आफ्नो प्रतिबद्धता जनाइन्।

सबै विशिष्ट अतिथिहरू तथा भक्तहरुले महामहोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजका श्रीमुख बाट करिब एक घण्टा लामो कथा प्रवचन श्रवण गरे | भक्तजनहरूले उहाँको प्रवचनबाट आध्यात्मिक ज्ञान प्राप्त गर्दै सनातन धर्मको महत्वलाई गहिरो रूपमा आत्मसात गरे।

साथै विशिष्ट अतिथिहरूले मातापिता सेवाश्रम तथा देवघाट दिव्यधाम निर्माण स्थलको अवलोकन गरे। – दैनिक दशौं हजार भक्तहरूलाई निःशुल्क भोजन र आवासको व्यवस्था रहेको देखेर उनीहरू निकै प्रभावित भए। – महामहोत्सवको व्यवस्थापन, सेवाश्रमको महत्त्व, तथा निर्माण कार्यको दूरगामी उद्देश्यबारे चासो राख्दै सफलताको शुभकामना दिए।

चलचित्र तथा संचार क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिताले महामहोत्सवको चर्चा अझ फैलाउन मद्दत गर्ने विश्वास गरिएको छ। नायिका झरना थापाले धार्मिक कार्यमा आफ्नो समर्थन रहिरहने बताइन् भने प्रकाश सुवेदीले पनि आफ्नो संचार माध्यममार्फत यस्तो पुण्य कार्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए।

अब महामहोत्सवको समापनका लागि मात्र पाँच दिन बाँकी छ। आयोजकका अनुसार अन्तिम पाँच दिनमा अझ विशेष धार्मिक कार्यक्रमहरू गरिने छन्, जसमा लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ। देवघाट महामहोत्सव सनातन धर्म, धार्मिक पर्यटन प्रवर्द्धन, तथा समाजसेवाको उत्कृष्ट उदाहरण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट