Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सौराहामा चहलपहल शुरु

सौराहामा चहलपहल शुरु

चितवन : दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी सौराहामा खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।माघ २९ देखि सुरु हुने महोत्सवलाई भव्य बनाउन सौराहालाई सिँगारिएको छ । महोत्सवको तयारी गरिएपछि सौराहामा चहलपहलसमेत सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहा चितवन (रेबान) सौराहाको आयोजनामा सौराहा फुड फेस्टिभलको १९ औँ संस्करण हुन लागेको हो । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फागुन ३ सम्म फेस्टिभल सञ्चालन हुने आयोजक रेबान सौराहाले जानकारी गराएको छ ।

चितवनको पर्यटन विकासका लागि प्रणय दिवसका अवसर पारेर फेस्टिभल आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । फेस्टिभलको प्रभावका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने उहाँले बताउनुभयो । फेस्टिभलबाट भएको मुनाफा सौराहाको सौन्दर्यीकरणमा लगानी गर्ने आयोजकले जानकारी दिएको छ ।

फेस्टिभलमा विभिन्न जातजातिको नाच, खानाका परिकार रहने छ । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभलमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिभल अवलोकनका लागि सौराहामा दैनिक पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेबान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।

फेस्टिभल अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् । सौराहामा १५० भन्दा बढी पर्यटकीय होटेल र ९० को हाराहारीमा रेस्टुरेन्ट छन् । सफारी पर्यटनको हिसाबले प्रसिद्ध सौराहामा वार्षिक साढे तीन लाख पर्यटक आउने गरेका छन् । सौराहा आएका करिब ८० प्रतिशत पर्यटकले यहाँको सामुदायिक वन र निकुञ्जमा सफारी गर्ने गरेको खबर आजको गोरखापत्रले छापेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट