रत्ननगर : चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी फुड फेस्टिबलको तयारी गरिएको छ । माघ २९ गतेबाट सुरू हुने फुड फेस्टिबललाई भव्य बनाउन सौराहालाई सिँगारिएको छ । फेस्टिबलको तयारी गरिएपछि सौराहामा चहलपहलसमेत सुरू भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, सौराहा चितवन (रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेस्टिबलको १९औँ संस्करण हुन लागेको हो । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फागुन ३ गतेसम्म फेस्टिबल सञ्चालन हुनेछ । आयोजक रेवान सौराहाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो ।
चितवनको पर्यटन विकासका लागि प्रणय दिवसको अवसर पारेर फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ‘प्रणय दिवस बहाना मात्र हो’, उनले भने, ‘परम्परागत खानाको माध्यमबाट सौराहामा पर्यटक भित्र्याउने गरी पर्यटकीय उत्सवको आयोजना गरेका हौँ ।’ ‘प्राकृतिक सौन्दर्यता : चितवन सौराहाको विशेषता’लाई आत्मसात् गर्दै आयोजना गरिएको फेस्टिबलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने उनले बताए ।
सौराहासहित चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको फुड फेस्टिबलले जिल्लाको समग्र पर्यटन विकासमा योगदान दिँदै आएको छ । फेस्टिबलमा सञ्चालन हुने पर्यटन प्रवद्र्धनात्मक गतिविधिले कालान्तरसम्म पर्यटक भिœयाउन टेवा पुग्ने अध्यक्ष गिरीले बताए । फेस्टिबलबाट भएको मुनाफा सौराहाको विकासमा खर्च गर्ने उनको भनाइ छ । ‘फेस्टिबलबाट भएको मुनाफा हामीले अन्त खर्च गर्दैनौँ’, उनले भने, ‘सौराहाको सौन्र्दर्यीकरणमा लगानी गर्छौं ।’
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला–संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यसवर्ष पनि सौराहाको पर्यटनमार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
फागुन ३ गतेसम्म चल्ने फेस्टिबलमा बहुल जातजातिहरुका झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर÷वेटे«सबीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटवल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता हुने फेस्टिबलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिए ।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबलमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिबल अवलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । रत्ननगर नगरपालिका वडा नं–७ का वडाध्यक्ष सजना महतो प्रमुखअतिथि रहेको पत्रकार सम्मेलनमा सौराहा पर्यटन विकास समिति रत्ननगरका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, फेस्टिबलका आर्थिक उपसमितिका संयोजक सुवासचन्द्र गौतमलगायतले मन्तव्य राखेका थिए ।
फेस्टिबल अवधिभर सौराहाका व्यवसायीहरुले आवास र खानामा १० प्रतिशत छूट सुविधासमेत सार्वजनिक गरेका छन् । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले सौराहालाई सिँगार्न थालेका छन् । सौराहामा १५० बढी पर्यटकीय होटल र ९० को हाराहारीमा रेस्टुरेन्टहरु रहेका छन् । सफारी पर्यटनको हिसाबले प्रसिद्ध सौराहामा वार्षिक साढे तीन लाख पर्यटक आउने गरेका छन् । सौराहा आएका करिब ८० प्रतिशत पर्यटकले यहाँको सामुदायिक वन र निकुञ्जमा सफारी गर्ने गरेका छन् । सौराहा फुड फेस्टिबलकोे आफ्नै गौरवमय ईतिहास छ । हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्दै आइरहेका छौं ।
देशमा उत्पन्न फरक–फरक घटना क्रममा भएका असहज परिस्थितिहरुलाई छिचोल्दै यस क्षेत्रमा रहेका पर्यटन व्यवसायमा आवद्ध संघ–संस्थाहरु तथा स्थानीय जनसमुदायको साथ र सहयोगले गर्दा १९ वर्षदेखि निरन्तर रुपमा सञ्चानल हँुदै आइरहेको सौराहा फुड फेस्टिबलको १९औं संस्करणको तयारी गरिरहेका छौं ।
वास्तवमा यस फुड फेस्टिवलको मुख्य उद्देश्य, सुस्ताएको पर्यटन व्यवसायलाई गतिशिलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीहरुमा नयाँ उमङ्ग र उत्साह थप्नुको साथै स्थानीय जनमानसमा हालको आर्थिक मन्दीले थकित तथा त्रसित बनाएको मानसिकतामा पुनर्ताजकीका साथै सौराहाको पर्यटनलाई विगतकै अवश्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij