Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो : गुणस्तरीय सामग्रीबारे जान्ने अवसर

चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो : गुणस्तरीय सामग्रीबारे जान्ने अवसर

भरतपुर : निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो सञ्चालन गरिएको छ । एक्स्पो आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । घर तथा भवन निर्माण गर्न चाहने सेवाग्राही र व्यवसाय गर्ने योजना बनाएका उद्यमीले निर्माण सामग्रीबारे कम्पनीका प्रतिनिधिबाटै जान्न र बुझ्न पाउनेछन् । एक्स्पोमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ ।

निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष शिवप्रसाद ओझाका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपाली निर्माण सामग्रीको प्रवद्र्धन गर्नु हो । एक्स्पोमा प्रदर्शनका लागि राखिएका ९९ प्रतिशत निर्माण सामग्रीहरु नेपाली उत्पादन रहेको उनले बताए । एक्स्पोको मुख्य प्रायोजक पशुपति सेरामिक्स रहेको छ । बारामा यसको उद्योग छ भने यसले एसिटएस ब्रान्डका टायल्स र मार्बल उत्पादन एवं बिक्रीवितरण गर्दै आएको छ । यो उद्योगमा भारतीय र नेपाली लगानीकर्ताको लगानी रहेको छ ।

गुणस्तरमा उत्कृष्ट प्रमाणित भएका निर्माण सामग्रीको स्टल एक्स्पोमा रहेको उनले बताए । सेवाग्राही, नयाँ व्यवसायी र कम्पनीबीच सम्बन्ध स्थापित गरी नबुझेका कुरा बुझाउनका लागि एक्स्पो फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष हरिप्रसाद गैरेले एक्स्पोमा निर्माण सामग्रीका ३० वटा स्टल रहेको बताए । एक्स्पोमा घर तथा भवन निर्माण गर्दा आवश्यक पर्ने सबै निर्माण सामग्रीको स्टल रहेको छ । ‘घर तथा भवन निर्माण गर्ने योजना बनाउनुभएका सेवाग्राही वा नयाँ व्यवसाय गर्ने सोचमा रहनुभएका व्यक्तिले यहाँ आएर निर्माण सामग्रीका बारेमा कम्पनीको प्रतिनिधिसँग प्रत्यक्ष भेटेर संवाद गर्न सक्नुहुन्छ । आफ्ना जिज्ञासा मेट्न सक्नुहुन्छ’, उनले भने । नेपाल गुणस्तर र अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त निर्माण सामग्रीहरु एक्स्पोमा राखिएको उनले बताए ।

बारामा एटिएस ब्रान्डका मार्बल, टायल उत्पादन गर्दै आएको पशुपति सेरामिक्सका निमावत सनीले आफ्नो ब्रान्डको प्रचारप्रसार गर्न एक्स्पोको भूमिका मह¤वपूर्ण हुने बताए । भारतको गुजरातमा एटिएस ब्रान्डका मार्बल, टायल उत्पादन हुन थालेको २५ वर्ष भइसकेको छ । सोही ब्रान्डका मार्बल र टायल नेपालमा पनि उत्पादन हुन थालेको छ । ‘हाम्रो टायलमा २० वर्षको ग्यारेन्टी छ । नेपालमा २० वर्षको ग्यारेन्टी कुनै पनि मार्बल, टायल कम्पनीले दिन सकेका छैनन्’, उनले भने ।

सौरभ ग्रुपका डाइरेक्टर अतुल न्यौपानेले काठमाडौँबाहिर पनि निर्माण सामग्रीको एक्स्पो देख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । यस्ता एक्स्पो नियमितरुपमा भइराख्नुपर्ने उनले बताए । ‘एक्स्पोले बजारमा आएका नयाँ निर्माण सामग्रीबारे जान्न, बुझ्न सेवाग्राहीलाई पुलको काम गर्छ । व्यवसायीलाई आफ्ना सामग्रीको प्रचारप्रसार गर्ने राम्रो अवसर पनि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट