Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

भारतमा ४० हजार भारु पर्ने क्यान्सर औषधिको मूल्य घटेर २ हजार ७२०, ५४३ औषधिमध्ये ३९७ वटाको मूल्य घट्दै १४६ वटाको यथावत

भारतमा ४० हजार भारु पर्ने क्यान्सर औषधिको मूल्य घटेर २ हजार ७२०, ५४३ औषधिमध्ये ३९७ वटाको मूल्य घट्दै १४६ वटाको यथावत

भारतमा अबको दुई साताभन्दा कम समयमै केही क्यान्सरका औषधिको मूल्य ठूलो मात्रामा घट्ने भएको छ। क्यान्सरका केही औषधि ९० प्रतिशतभन्दा बढी सस्तो हुने भए पनि पछिल्लो समय बिरामीले प्रयोग गरिरहेका महँगा र नयाँ औषधिको मूल्यमा भने कुनै परिवर्तन नहुने देखिएको छ।

भारतको औषधि मूल्य नियामक निकाय नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले सार्वजनिक गरेको विवरणअनुसार, हाल ४० हजार ४२१ भारतीय रुपैयाँ पर्ने पाल्बोसिक्लिब क्याप्सुलको एक ब्रान्डको मूल्य घटेर २ हजार ७२० रुपैयाँ कायम हुनेछ। त्यस्तै, हाल ८० हजार ७२ रुपैयाँ पर्ने थायोटेपा इन्जेक्सनको मूल्य घटेर ७ हजार १५० रुपैयाँमा झर्नेछ।

तर फोक्सोको क्यान्सरमा प्रयोग हुने ओसिमर्टिनिबजस्ता नयाँ औषधिको मूल्य भने यथावत् रहनेछ। हाल ३० वटा ओसिमर्टिनिब ट्याब्लेटको एक प्याकेटलाई ४ लाख १६ हजार भारतीय रुपैयाँ पर्ने गरेकोमा नोभेम्बर ९ पछि पनि सोही मूल्य कायम रहनेछ।

एनपीपीएले अक्टोबर २७ सम्म औषधि उत्पादक कम्पनीहरूले उपलब्ध गराएको विवरणका आधारमा ५४३ ब्रान्ड तथा प्याकेजको पुरानो र संशोधित अधिकतम खुद्रा मूल्य (एमआरपी) सार्वजनिक गरेको हो।

भारत सरकारले के निर्णय गरेको हो?

भारत सरकारले अक्टोबर १७ मा प्रत्यक्ष सरकारी मूल्य नियन्त्रणमा नरहेका १३७ प्रकारका क्यान्सरका औषधिमा व्यापारिक मार्जिन अधिकतम ३० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसलाई ट्रेड मार्जिन र्‍यासनलाइजेसन (टीएमआर) भनिन्छ।

व्यापारिक मार्जिन भन्नाले औषधि उत्पादक कम्पनीले थोक विक्रेता वा वितरकलाई बेच्ने मूल्य र बिरामीले औषधि खरिद गर्दा तिर्नुपर्ने अधिकतम खुद्रा मूल्यबीचको अन्तरलाई जनाउँछ। सरकारले अधिकतम खुद्रा मूल्यको ३० प्रतिशतमा व्यापारिक मार्जिन सीमित गर्दा वितरकलाई बेच्ने मूल्यको तुलनामा यो वृद्धि ४२.८६ प्रतिशत बराबर हुन्छ।

यो व्यवस्था पेटेन्ट प्राप्त औषधिमा समेत लागू हुने बताइएको छ। नयाँ मूल्य नोभेम्बर ९ देखि लागू हुनेछ। सरकारले यस निर्णयबाट केही औषधिको मूल्य ७० प्रतिशतसम्म घट्न सक्ने जनाएको छ।

तर एनपीपीएको तथ्यांकअनुसार मूल्य घट्ने औषधिको संख्या र परिमाण सरकारको अनुमानभन्दा पनि बढी देखिएको छ।

सार्वजनिक गरिएको ५४३ औषधि तथा प्याकेजमध्ये ३९७ वटाको मूल्य घट्नेछ भने १४६ वटाको मूल्यमा कुनै परिवर्तन हुनेछैन। कुलमध्ये ९७ वटा अर्थात् झन्डै पाँचमध्ये एक औषधिको मूल्य ७० प्रतिशत वा त्योभन्दा बढी घट्नेछ। त्यस्तै, ५० वटा औषधिको मूल्य ८० प्रतिशत वा सोभन्दा बढी र पाँचवटाको मूल्य ९० प्रतिशतभन्दा बढी घट्ने देखिएको छ।

कुन-कुन औषधिको मूल्य घट्दै छ?

रगतको क्यान्सरमा प्रयोग हुने ड्यासाटिनिब ७० मिलिग्रामका ६० वटा ट्याब्लेटको मूल्य १७ हजार ८११ रुपैयाँबाट घटेर १ हजार ८०८ रुपैयाँमा झर्नेछ। डाइरोनिब ब्रान्डको यो औषधिको मूल्यमा ठूलो गिरावट आउन लागेको हो।

त्यस्तै, प्रोस्टेट क्यान्सरमा प्रयोग हुने एबिराटेरोन २५० मिलिग्रामका १२० वटा ट्याब्लेटको मूल्य ३६ हजार ८९ रुपैयाँबाट घटेर ४ हजार ६४ रुपैयाँ कायम हुनेछ। एबिराट ब्रान्डको उक्त औषधि अब पहिलेको तुलनामा निकै सस्तो हुनेछ।

त्यसैगरी, ४०० मिलिग्रामको बेभासिजुम्याब इन्जेक्सनको मूल्य ६५ हजार २०५ रुपैयाँबाट घटेर ८ हजार ९५७ रुपैयाँमा झर्नेछ।

यी औषधिहरू विभिन्न कम्पनीले फरक–फरक ब्रान्डमा उत्पादन तथा बिक्री गर्ने गरेका छन्।

अखिल भारतीय औषधि कार्य सञ्जाल (एआईडीएएन) की सहसंयोजक मालिनी ऐसोलाका अनुसार, केही औषधिको मूल्यमा देखिएको ठूलो गिरावटले यसअघि बिरामीले कति महँगो मूल्य तिरिरहेका थिए भन्ने स्पष्ट पार्छ।

उनले भनिन्, “केही ब्रान्डको मूल्यमा अत्यन्त ठूलो वा उल्लेखनीय गिरावट आएको छ। यसले विगतमा भइरहेको लुट र शोषणलाई देखाउँछ।”

उनका अनुसार, जेनेरिक क्यान्सर औषधि उत्पादन गर्ने भारतका कतिपय ठूला कम्पनीले औषधिमा अत्यधिक व्यापारिक मार्जिन राखेर बिरामीमाथि आर्थिक भार बढाइरहेका थिए।

दिल्ली क्यान्सर इन्स्टिच्युटकी क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा. प्रज्ञा शुक्लाले पनि जेनेरिक तथा बायोसिमिलर औषधिको बजारमा दिइने छुट र विशेष बिक्री योजनाले वास्तविक व्यापारिक मार्जिन निकै बढाउन सक्ने बताइन्।

उनका अनुसार, ‘१००+५०’ जस्ता योजनाबाट औषधि विक्रेताले प्राप्त गर्ने वास्तविक लाभ ५० प्रतिशतभन्दा माथि पुग्न सक्छ।

नयाँ र महँगा क्यान्सर औषधिको मूल्य भने यथावत्

सरकारको निर्णयले पुराना तथा धेरै ब्रान्डमा उपलब्ध औषधिको मूल्य घटाए पनि नयाँ र महँगा औषधि प्रयोग गरिरहेका बिरामीलाई भने तत्काल राहत नपुग्ने देखिएको छ।

एनपीपीएको विवरणमा ओसिमर्टिनिब, एलेक्टिनिब, ट्रेमेलिमुम्याब, डोस्टार्लिम्याब, इभोसिडेनिब, सेलुमेटिनिब र पेम्ब्रोलिजुम्याबजस्ता औषधिको मूल्यमा कुनै परिवर्तन भएको छैन। यीमध्ये धेरै औषधि पेटेन्ट संरक्षणअन्तर्गत रहेका औषधि हुन्।

विवरणअनुसार, फोक्सोको क्यान्सरमा प्रयोग हुने ओसिमर्टिनिब (ट्याग्रिसो) को मूल्य ४ लाख १६ हजार रुपैयाँ नै कायम रहनेछ। त्यस्तै, एलेक्टिनिब (एलेसेन्सा) को मूल्य ४ लाख ३१ हजार रुपैयाँ रहनेछ।

क्यान्सर उपचारमा प्रयोग हुने ट्रेमेलिमुम्याब (इम्जुडो) ३०० मिलिग्रामको इन्जेक्सनको मूल्य ४ लाख १८ हजार रुपैयाँ र डोस्टार्लिम्याब (जेम्पर्ली) ५०० मिलिग्रामको इन्जेक्सनको मूल्य ३ लाख ९१ हजार रुपैयाँ यथावत् रहनेछ।

त्यसैगरी, इभोसिडेनिब (टिब्सोभो) २५० मिलिग्रामका ६० वटा ट्याब्लेटको मूल्य ६ लाख ५८ हजार रुपैयाँ र सेलुमेटिनिब (कोसेलुगो) २५ मिलिग्रामका ६० वटा क्याप्सुलको मूल्य १० लाख २२ हजार रुपैयाँ कायम रहनेछ।

पेम्ब्रोलिजुम्याब (किट्रुडा) को १०० मिलिग्रामको एउटा भायलको मूल्य पनि २ लाख १७ हजार रुपैयाँ नै रहनेछ।

औषधि तथा उपचारमा पहुँचसम्बन्धी कार्य समूहका सहसंयोजक केएम गोपालकुमारले एनपीपीएको सूचीमा झन्डै ३७ वटा पेटेन्ट प्राप्त औषधिका ६५ प्रकारका औषधि स्वरूपको मूल्यमा कुनै परिवर्तन नभएको बताए।

उनका अनुसार, जीवनरक्षक औषधिमा प्रतिस्पर्धा बढाउन सरकारले अनिवार्य अनुमतिपत्र (कम्पल्सरी लाइसेन्सिङ) जारी गर्ने वा सरकारी प्रयोजनका लागि औषधि उत्पादन तथा प्रयोग गर्ने अधिकार उपयोग गर्नेजस्ता उपाय तत्काल अवलम्बन गर्न आवश्यक छ।

कम्पल्सरी लाइसेन्सिङको व्यवस्थाले निश्चित कानुनी सर्त पूरा गरेर पेटेन्टधारकको सहमतिबिना पनि अन्य उत्पादकलाई औषधि उत्पादन वा बिक्री गर्न अनुमति दिन सक्छ। यसले महँगा औषधिको बजारमा प्रतिस्पर्धा बढाउन सहयोग पुर्‍याउन सक्छ।

एआईडीएएनकी सहसंयोजक ऐसोलाले भने व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय आफैँमा क्यान्सर उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले पर्याप्त नभएको बताइन्।

उनका अनुसार, पेटेन्ट प्राप्त औषधिको मूल्य घट्न नसक्नु र औषधि कम्पनीले बिरामीलाई निःशुल्क उपलब्ध गराउने औषधिलाई मूल्य गणनामा समावेश नगर्नुले पनि मूल्य नियन्त्रणको प्रभाव सीमित बनाएको छ।

औषधि कम्पनीहरूले बिरामी सहायता कार्यक्रम (पेसियन्ट असिस्टेन्स प्रोग्राम–पीएपी) अन्तर्गत निश्चित बिरामीलाई केही औषधि निःशुल्क उपलब्ध गराउने गर्छन्। तर एनपीपीएको सार्वजनिक विवरणले महँगा औषधिको मूल्य किन नघटेको भन्ने विषयमा स्पष्ट कारण खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट