Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

काठमाडौंः ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेको छ। बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कमभएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा प्रकाश यादवले भने, ‘रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पिआरबीसी र (पिआरपी) को मौज्दात सकिएको छ। यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ।’ उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन्। 

चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएकाले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन्। 

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए। बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नं ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। 

साथै आफ्नो मोबाइलको प्लेस्टोरमा गएर (एनआरसीएस बिटीएस)मा गएर पनि रक्तसञ्चारका बारेमा जानकारी लिनका लागि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij