Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कलकत्ताको दुर्गा पूजा पान्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते

कलकत्ताको दुर्गा पूजा पान्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते

काठमाडौँ  : भारतको पश्चिम बंगालस्थित उत्तर कलकत्ताको चोरेबगान दुर्गा पूजा पन्डलमा शनिबार साँझ (महाषष्ठी/महासप्तमीको दिन) वर्षाका कारण अत्यधिक भीडभाड हुँदा भागदौड मच्चिंदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

घटनालगत्तै पीडितहरूलाई कलकत्ता मेडिकल कलेज तथा अस्पताल लगिएको थियो। अस्पतालको निरीक्षणपछि मुख्यमन्त्री सुभेन्दु अधिकारीले मृतकका परिवारलाई पच्चीस लाख रुपैयाँ र एक जनालाई चौथो श्रेणीको सरकारी जागिर दिने घोषणा गरेका छन। 


साथै, प्रत्येक घाइतेलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै उनीहरूको रोजाइको अस्पतालमा सम्पूर्ण उपचार खर्च राज्य सरकारले व्यहोर्ने उहाँले जानकारी दिनुभयो। घटनाको जाँचका लागि कलकत्ता उच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा एक विशेष अनुसन्धान टोली (SIT) गठन गरिने मुख्यमन्त्रीले बताएका छन्।

दुर्घटनापछि प्रशासनले कलकत्ताका धेरै प्रमुख  पूजा पन्डलहरूलाई अस्थायी रूपमा बन्द गर्न सुझाव दिएको छ। कलकत्तामा करिब ३,५०० वटा दुर्गा पूजा पन्डलहरू रहेका छन्।

घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृह मन्त्री अमित शाह, पूर्वमुख्यमन्त्री ममता बनर्जी, राज्यपाल आरएन रवि लगायतका शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गर्नुभएको छ। साथै, गृह मन्त्री अमित शाहले आफ्नो निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी घाइतेहरूलाई भेट्ने कार्यक्रम तय गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij