काठमाडौँ : हिमालय क्षेत्रमा बढ्दो अव्यवस्थित निर्माणका कारण कम्तीमा तीन लाख मानिस बाढी, पहिरो र हिमताल विस्फोटजन्य विपद्को जोखिममा रहेको नयाँ अध्ययनले देखाएको बिबिसिले उल्लेख गरेको छ ।साइन्टिफिक रिपोट्र्स जर्नलमा प्रकाशित अध्ययनअनुसार सन् २०१६ देखि २०२३ सम्म नेपालको उत्तरी क्षेत्र, दक्षिणपूर्वी तिब्बत र भारतको उत्तराखण्डका जोखिमयुक्त क्षेत्रमा निर्माण भएका संरचनाको क्षेत्रफल करिब ४५ प्रतिशतले बढेको छ । हिमतालबाट बाढी आउने जोखिम भएका क्षेत्रमा भने निर्माण करिब ७८ प्रतिशतले वृद्धि भएको छ ।
अध्ययनले जोखिमयुक्त क्षेत्रमा पर्यटन पूर्वाधार, होटल, आवास, सडक र जलविद्युत् आयोजना विस्तार भइरहेको देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार अध्ययनमा समेटिएका क्षेत्रबाहिर पनि जोखिम रहेकाले प्रभावित मानिसको वास्तविक संख्या अझ बढी हुन सक्छ ।नेपालको पोखरा, अन्नपूर्ण क्षेत्र तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा तीव्र निर्माणले जोखिम बढाएको छ । नदी किनारमा रहेका बस्ती र संरचनाहरू बाढी तथा पहिरोबाट प्रभावित हुँदै आएका छन् । गत अगस्टमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।
वैज्ञानिकहरूका अनुसार विश्वको औसतभन्दा दोब्बर गतिमा तापक्रम बढिरहेको हिमालय क्षेत्रमा हिमनदी पग्लने, हिमताल विस्तार हुने र हिमताल फुटेर बाढी आउने जोखिम बढेको छ । तापक्रम वृद्धिले वर्षा, चट्टान खस्ने र पहाडी भूभाग अस्थिर हुने घटनासमेत बढाउन सक्छ ।विज्ञहरूले नदी किनारमा निर्माण नियन्त्रण, प्रभावकारी पूर्वसूचना प्रणाली र जोखिमका आधारमा भू–उपयोग योजना लागू गर्नुपर्ने बताएका छन् । नेपाल सरकारले रसुवा–भोटेकोशी क्षेत्रमा नदी किनारबाट १५ मिटरभित्र बस्ती बसाउन प्रतिबन्ध लगाउने तयारी गरेको छ ।तर कमजोर नियमन र अव्यवस्थित विकासका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको अध्ययनले औँल्याएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij