Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

अडियो विवादमा नेताहरू : नैतिकताको प्रश्न कि चरित्र हत्या ?

अडियो विवादमा नेताहरू : नैतिकताको प्रश्न कि चरित्र हत्या ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र एक महिला बिचको भनिएको अडियो रेकर्ड (संवाद) सार्वजनिक भएपछि हलचल मच्चिएको छ । सार्वजनिक भएको अडियोमा बोल्ने पुरुष खगेन्द्र सुनार रहेको दाबी गरिएको छ, जसमा महिलामाथि क्रुर र आपत्तिजनक शब्द प्रयोग गरिएको छ ।अडियो प्रकरणमा खगेन्द्रको दल रास्वपाले आन्तरिक छानबिन थालेको छ । राज्य तहबाट भने यसबारे अहिलेसम्म छानबिन थालिएको छैन ।सोमबार खगेन्द्र र महिलाबिचको अडियो सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट अर्थात असोज २७ गते मंगलबार रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अडियो प्रकरण छानबिन नसकिएसम्म सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको उल्लेख गरेका छन् ।

खगेन्द्र सुनार जेनजी आन्दोलनपछि गत फागुनमा भएको निर्वाचनमा बाँके क्षेत्रनम्बर ३ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । उनी रास्वपाका केन्द्रीय सदस्यसमेत हुन् । पत्रकार र अभियन्ता हुँदै राजनीतिमा प्रवेश गरेका उनी यसअघि पनि पटक–पटक विवादमा मुछिँदै आएका थिए । पछिल्लो पटक सार्वजनिक अडियोमा प्रयोग भएका शब्द र शैली अत्यन्तै तल्लोस्तरका मात्र छैनन्, घृणायुक्त समेत छन् ।अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनारले भिडियो सार्वजनिक गर्दै घटनाबारे स्पस्टीकरण दिएका छन्, जसमा उनले आफूमाथि छानबिन गर्न माग पनि गरेका छन् ।

त्यसो त नेपालका राजनीतिक दलका नेताहरूको नैतिक आचरणसँग जोडिएका अडियो काण्डहरू बाहिरिएको यो पहिलो पटक होइन । विगत झन्डै एक दशकमा मात्रै विभिन्न पार्टीका विभिन्न नेताहरू यस्तो अनैतिक आचरणयुक्त अडियो काण्डमा विवादित बन्दै र फस्दै आएका छन् । सार्वजनिक भएका त्यस्ता अडियोका कारण कतिपयको त पद नै गुमेको छ ।
महराको सभामुख पद ‘चैट’
२०७४ सालमा प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित कृष्णबहादुर महरामाथि २०७६ सालमा यौन दुर्व्यवहारको आरोप लाग्यो । त्यसबेला सभामुख महराले रोशनी शाही नामक महिलालाई यौन दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएर नैतिक प्रश्न उठेपछि महरा २०७६ असोज १५ गते सभामुख पदबाट राजीनामा दिन बाध्य भए । यतिमात्र होइन, प्रहरीले महरालाई पक्राउ गरेर अदालतमा मुद्दासमेत चलायो ।

त्यसपछि अग्नि सापकोटा प्रतिनिधि सभाको सभामुख बनेका थिए । महराको विवाद त्यतिमामात्र सीमित छैन । उनी विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पनि जोडिए । यस प्रकरणमा पनि चिनियाँ नागरिकहरूसँग उनको टेलिफोन सम्पर्क (कल डिटेल रेकर्ड) सार्वजनिक भयो । यो प्रकरणमा महरा २०८० चैतमा पक्राउ परे, तर पछि रिहा भएका उनी सक्रिय राजनीतिबाट अलग भइसकेका छन् ।

‘७० करोड’ काण्ड
नेपाली राजनीतिक इतिहासमा अडियो प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा पनि विवादमा तानिए । सेक्युरिटी प्रिन्टिङ खरिद गर्ने विषयमा उनले विचौलियासँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए । तत्कालीन मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मनमध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै जिम्मा दिएको थियो । त्यसपछि बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबिच कमिसनबारे कुराकानीको अडियो लिक भएको हो । उक्त अडियो सार्वजनिक भएलगत्तै बास्कोटा २०७६ फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिन बाध्य भए । यद्यपि बास्कोटाका पालामा रकम लेनदेनको कुरामात्र भएको तर लेनदेन भएको थिएन । त्यही कारण बास्कोटालाई अहिलेसम्म पनि कतिपयले ‘७० करोड’ भनेर सम्बोधन गर्ने गरेका छन् ।

मोहन बस्नेतको टेरामक्स प्रकरण
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत पनि सेक्युरिटी प्रिन्टिङ प्रेसकै खरिद प्रकरणमा जोडिएको भन्दै २०८० सालमा एउटा अडियो बाहिरियो । सार्वजनिक अडियोमा घुस लेनदेनमा बस्नेत समेत संलग्नता रहेको दाबी गरिएको थियो । यद्यपि बस्नेतले उक्त अडियो फर्जी र आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र भएको दाबी गरेका थिए ।उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा नै दायर गर्‍यो, तर यो मुद्दामा विशेष अदालतले बस्नेतलाई २०८३ असारमा सफाइ दियो । उक्त प्रकरणमा अदालतले दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको थियो ।

लिचीबारी प्रकरणमा गुप्ता र श्रेष्ठ
पोखराको लिचीबारी जग्गा प्रकरणमा तत्कालीन दुई जना मन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको अडियो सार्वजनिक भयो । पछि उक्त मुद्दामा गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पोखराको बाटुलेचौरमा रहेको लिची बगानको १३४ रोपनी जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबिचको अडियो सार्वजनिक भएपछि अख्तियारले मुद्दा अघि बढाएको थियो । सोही प्रकरणमा तत्कालीन भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध घुस रिसवत लिए/दिएको विषयमा थप अनुसन्धान भएको थियो ।

पाठकको गयो आयुक्त पद
नेतामात्र होइन, सुशासन कायम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक समेत पदमा रहँदा २०७५ सालमा ७८ लाख रुपैयाँ घुस प्रकरणसँग जोडिए । नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय (अडियो) बाहिर आएपछि महाअभियोगको डरले पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए ।घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनबारे कुराकानी र छलफल गरेको अडियो र भिडियो सार्वजनिक गरेको थियो । कलेजको अनियमितता मिलाउन एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा पेस्की स्वरूप दुई चरणमा कलेजका लम्बोदर न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएका थिए । उक्त रकम पाठकसमक्ष पुर्‍याउने समूहले नै पछि अख्तियारमा अडियोसहितको प्रमाण पेस गरेको थियो । उनको मुद्दा अहिले विशेष हुदै सर्वोच्च अदालत पुगेर विचाराधिन अवस्थामा छ ।

आयुक्तमाथि नै घुस लिएको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आयुक्त डा. सुमित्रा अमात्यले हाल भ्रष्टाचार मुद्दामा थुनामा रहेका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग घुस लिएको भन्दै अडियो सार्वजनिक भएको छ। अडियो रेकर्डअनुसार आयुक्त अमात्यले ठूला भ्रष्टाचारका फाइलहरू खुलेको र उक्त विषयमा आफैँले अनुसन्धान गरिरहेको सूचना अभियुक्त अधिकारीलाई दिने गरेको देखिएको छ। पोखरा, भैरहवा र विराटनगर विमानस्थल निर्माणका क्रममा भएको अर्बौँको भ्रष्टाचारबारे अख्तियारले गरिरहेको छानबिनका गोप्य सूचना आयुक्त अमात्यले अधिकारीलाई उपलब्ध गराएको खुलासा भएको छ। उनीहरूबिच ‘दिदी-भाइ’ को नाता गाँस्दै सार्वजनिक अडियोमा प्रदीप अधिकारीले डा. अमात्यलाई ‘१५-२० बुक’ यसअघि नै बुझाइसकेको र बाँकी रकम पनि बुझाउँदै जाने बताएको सुनिन्छ।   

आचरण शुद्ध हुनुपर्छ : सूर्यनाथ उपाध्याय
अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सार्वजनिक र जिम्मेवार पदमा पुगेका जोसुकैले पनि आफ्नो पदीय जिम्मेवारी बिर्सेर आचरणविपरीत काम र कुरा गर्दा विवादमा तानिने गरेको बताउँछन् । उपाध्यायका अनुसार जिम्मेवार व्यक्ति गैरजिम्मेवार बन्दा यस्ता घटनाहरू दोहोरिने गरेका छन् ।‘उनीहरूले जे बोल्छन् र गर्छन्, त्यो कुरा हाम्रो कानुनले दिएको छ कि छैन ? जुनसुकै कुराको एउटा हद हुन्छ, हद पार गरेपछि मुद्दा लाग्छ, कारबाही हुन्छ’, उपाध्यायले भने, ‘कुनै मानिसको चरित्र हत्या गर्न जे पायो त्यही लेखिदिने, बोलिदिने र प्रमाण पनि नहुने घटना पनि भएका छन् ।’

उनले सार्वजनिक र जिम्मेवार पदमा बसेकासहित एउटा जिम्मेवार नागरिकले के बोल्नु हुन्छ र के हुँदैन, अनि के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने कुरामा ख्याल नगर्दाको परिणाम मानिसहरू अडियो विवादमा तानिने गरेको बताए । तर कतिपयले भने यस्ता घटनालाई ‘षड्यन्त्र’का रुपमा परिभाषित गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट