Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बिमस्टेक बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरुङ

बिमस्टेक बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी आज दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नेछन्।बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछन् ।त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ ।गृहमन्त्रीका रुपमा उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्किने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट