काठमाडौं : काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४, यस मोड नजिकै बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो। प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो। बसमा करिब ४० देखि ४५ जना सवार थिए। दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा चालक र सहचालक पनि
दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ की ३० वर्षीया भगवती अवस्थी र कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का घाइते भएका छन्।
त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र विक र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी पनि घाइते भएका छन्। बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको एचआर३९जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो।
ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij