नयाँदिल्ली : भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का संस्थापक अभिजित दीपकेले हिरासतबाट रिहा भएपछि निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै सुरु गरिएको आन्दोलन देशव्यापी बनाउने घोषणा गरेका छन् ।एक वर्षसम्म शान्ति र राम्रो आचरण कायम राख्ने सर्तमा रिहा भएको भनिएका उनले आफूहरूले विरोध प्रदर्शन नगर्ने प्रतिबद्धतासहितको कुनै सम्झौतामा हस्ताक्षर नगरेको बताए ।दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गर्ने तयारीमा रहेका दीपके, सीजेपीका सहसंयोजक सौरभ दास र आशुतोष रांका शनिबार नयाँ दिल्ली अवतरणलगत्तै विमानबाटै पक्राउ गरेर अज्ञात स्थानमा राखिएको थियो ।
आइतबार कार्यकारी मजिस्ट्रेटको आदेशपछि उनीहरू रिहा भएका हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको कार्यकारी मजिस्ट्रेट अदालतले तीनै जनालाई एक वर्षसम्म शान्ति भंग नगर्ने र राम्रो आचरण कायम राख्ने सर्तमा रिहा गर्न आदेश दिएको हो ।त्यसका लागि जनही ५० हजार भारतीय रुपैयाँको जमानतपत्र बुझाइएको बताइएको छ ।रिहाइको आदेश दिने क्रममा अदालतले एक वर्षसम्म शान्ति कायम राख्नुपर्ने सर्त राखेको भए पनि त्यसले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारलाई कुन हदसम्म सीमित गर्छ भन्ने विषय स्पष्ट भइसकेको छैन ।
रिहाइपछि दीपकेले सामाजिक सञ्जालमार्फत आफूहरूको आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।उनले आफूहरूले प्रदर्शन नगर्ने कुनै सर्त स्वीकार नगरेको दाबी गर्दै भने, ‘हामीले प्रदर्शन नगर्ने भन्ने कुनै बन्डमा हस्ताक्षर गरेका छैनौँ ।’उनले सीजेपी न पछि हट्ने र न डराउने भन्दै कार्यकर्ताहरू पुनः सडकमा उत्रिने बताए ।निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने पार्टीका नेताहरूको भनाइ छ ।
दीपकेले अक्टोबर १० लाई भारतमा ‘तानाशाहीको अन्त्यको सुरुवात’ का रूपमा स्मरण गरिने दाबीसमेत गरेका छन् । उनको अभिव्यक्ति निर्वाचन आयोगको कामकारबाही र मतदाता सूची पुनरावलोकन प्रक्रियालाई लिएर भारतमा बढिरहेको राजनीतिक विवादसँग जोडिएको छ ।रिहाइपछि दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि कडा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा मोदीलाई भारतका लागि लज्जास्पद व्यक्तिका रूपमा चित्रित गर्दै देशले यति धेरै कायर र दादागिरी गर्ने व्यक्ति कहिल्यै नदेखेको आशयको टिप्पणी गरेका हुन् ।
उनका सहकर्मी आशुतोष रांकाले पनि निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारलाई ‘देशद्रोही’ भन्दै राजीनामा दिनुपर्ने बताएका छन् । आयोग प्रमुखलाई पदबाट हटाउन आफू जीवनभर जेल बस्नसमेत तयार रहेको उनको भनाइ थियो ।यी अभिव्यक्तिले हिरासतबाट रिहा भए पनि सीजेपीका नेताहरू सरकार र निर्वाचन आयोगविरुद्धको आफ्नो राजनीतिक अभियानबाट पछि हट्ने मनस्थितिमा नरहेको संकेत गरेका छन् ।दीपकेको रिहाइसँगै उनको व्यक्तिगत पीडासँग जोडिएको अर्को विषय पनि चर्चामा आएको छ । हिरासतमा रहेका बेला उनकी हजुरआमा सावित्रीबाई दीपकेको मृत्यु भएको थियो ।
रिहाइपछि उनले परिवारसँग बस्न गाउँ फर्कने बताएका छन् ।दिल्ली प्रहरीले हिरासतमा रहेका दीपकेलाई हजुरआमाको मृत्युबारे जानकारी गराएको दृश्यसहितको भिडियो सार्वजनिक गरेको थियो ।उक्त भिडियोप्रति दीपकेले आपत्ति जनाएका छन् । उनले भिडियो सम्पादन गरिएको भन्दै पूरा र सम्पादन नगरिएको दृश्य सार्वजनिक गर्न माग गरेका छन् ।उनले हिरासतमा रहँदा वकिलसँग सम्पर्क गर्ने कानुनी अधिकारबाट वञ्चित गरिएको र परिवारलाई आफ्नो अवस्थाबारे जानकारी दिन नदिइएको आरोपसमेत लगाएका छन् ।प्रहरीले सार्वजनिक गरेको भिडियोले आफूलाई कस्तो व्यवहार गरिएको थियो भन्ने सम्पूर्ण वास्तविकता नदेखाउने उनको दाबी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij