सुनसरी : गत असार २ गते बिदामा घर आएका सुनसरीको इटहरी उपमहानगरपालिका–१९, भवानीपुरका प्रभाकर दंगाल २४ दिन आमाबुवासँग बसेर असार २६ गते ड्युटीमा फर्किए । घरबाट बिदा भएर फर्किएको डेढ महिनामै भोटेकोशीको भीषण बाढीले उनको परिवारको खुसी खोसिदियो । नेपाली सेनामा कार्यरत दंगाल बाढीमा परी बेपत्ता भएको लामो समय बितिसक्दा पनि अवस्था अझै अज्ञात छ ।
रसुवाको मैयुङमा नेपाली सेनाको साययर गणमा दरबन्दी भई ड्युटी गरिरहेका दंगाल भोटेकोशी बाढीमा परेर बेपत्ता भएका हुन् । उनीसहित उक्त गणमा कार्यरत २२ जनामध्ये १८ जना सैनिक अझै सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।
प्रभाकरको अवस्था बुझ्न उनको घर पुग्दा परिवारमा गहिरो सन्नाटा थियो । छोराको अवस्थाका बारेमा प्रश्न गर्न नपाउँदै उनकी आमा शारदाका आँखाबाट आँसु झर्न थाले । केही समयसम्म आफूलाई सम्हाल्ने प्रयास गरेकी उनले छोराले दशैंमा घर आएर बिहे गर्ने योजना सुनाएको सम्झिँदै भावुक भइन् ।
‘छोरोले दशैंमा आउँछु र बिहे गर्छु भनेको थियो । बाढीमा हरायो । हिजोसम्म त कतै गएर ज्यान बचाएको होला भन्ने लागेको थियो । तर, अब मेरो छोरो फर्किंदैन कि भन्ने लाग्न थालेको छ,’ उनले भनिन् ।
प्रभाकरले घरबाट ड्युटीमा फर्कने क्रममा आमालाई खोरमा राखिएको खसी देखाउँदै दशैंमा काटेर रमाइलो गर्ने बताएका थिए । दशैंमा घर आएर बिहे गर्ने योजना बनाएका उनले आमाबुवालाई केटीको चिन्ता नगर्नसमेत भनेका थिए । ‘तपाईंहरूले केटीको चिन्ता लिनुपर्दैन, मैले हेरिसकेको छु,’ उनले जाने बेलामा आमाबुवालाई भनेका थिए । तर, उनको त्यो योजना पूरा हुन पाएन ।
जेठा दाजु प्रलाद रोजगारीका लागि बहराइनमा छन् । प्रलादकी श्रीमती पनि उनीसँगै बहराइनमा रहेकाले प्रभाकरले आमाको अवस्थाका बारेमा बेलाबेलामा दाजुसँग सोधिरहन्थे । अघिल्लो दशैंमा समेत घर आउन नपाएका प्रभाकरले यसपटक लामो बिदा लिएर दशैं र तिहार घरमै मनाउने योजना बनाएका थिए । त्यही क्रममा बिहे गर्ने उनको तयारीसमेत थियो ।
इटहरी–२० तरहरास्थित जनसहयोग कलेजबाट कक्षा १२ सम्म अध्ययन गरेका प्रभाकर थप उच्च शिक्षा अघि बढाउन नपाउँदै नेपाली सेनामा प्रवेश गरेका थिए । नेपाली सेनामा सेवा थालेको गत वैशाखमा १० वर्ष पूरा भएर ११औँ वर्षमा प्रवेश गरेका थिए । गत वर्ष मात्र लेस नायकमा बढुवा भएका उनलाई परिवारले खुसीका साथ बधाई दिएको थियो । परिवारका सदस्यका अनुसार दिदीबहिनीले उनलाई मायाले ‘गोरे दादा’ भनेर बोलाउने गर्थे । दिदी प्रमिलाले यसपटकको तिहार भाइ प्रभाकरसँग टीका लगाएर धुमधामसँग मनाउने योजना बनाएकी थिइन् । तर, भाइ सम्पर्कविहीन भएपछि उनको त्यो योजना पनि अधुरै बनेको छ ।
बहराइनमा रहेका जेठा दाजु प्रलाद भाइ बाढीमा परेको खबर पाएपछि त्यहाँ बस्न नसकी केही दिनअघि मात्र नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएपछि इटहरीबाट आफन्तसहित पाँच जनाको टोली खोजीका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।
टोलीले आर्मी ब्यारेकदेखि खोला, नाला तथा बाढी प्रभावित क्षेत्रसम्म पुगेर पाँच–छ घण्टा खोजी गरे पनि प्रभाकरको कुनै सुराक फेला पार्न सकेन । ‘हामीले पाँच–छ घण्टा लगाएर खोज्यौँ । अब भेटिन्छ भन्ने आशा पनि मरेजस्तो भएको छ,’ अर्का दाजु प्रवीण दंगालले आँसु थाम्दै भने, ‘नुवाकोट पुगेर हेर्दा निकै विरक्त लागेर आयो । त्यहाँको माटो नै गन्हाउने भइसकेको छ ।’
प्रभाकर बाढीमा परेर सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि परिवारले नेपाली सेनाबाट उनको अवस्थाका बारेमा स्पष्ट र आधिकारिक जानकारी पाउन सकेको छैन । परिवारलाई भेटेर अवस्थाका बारेमा जानकारी गराउनसमेत सेनाबाट कोही नआएको उनीहरूको गुनासो छ ।
प्रभाकरकी आमा शारदा भने अझै छोराको पर्खाइमा छिन् । छोराले घरबाट ड्युटीमा फर्किने बेला भनेको ‘आमा, दशैंमा आउँछु’ भन्ने वाक्य उनले सम्झिरहेकी छन् ।
भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति
भदौ १० गते बिहान तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीमा परी ठूलो संख्यामा मानिसको ज्यान गएको तथा धेरै मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ ।
पछिल्लो विवरणअनुसार एक हजार १२७ शव फेला परिसकेको छ । चार हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । सयौं मानिसको उद्धार भइसकेको छ । नेपाली सेनाका ४५ जनासहितका सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी तथा पर्यटकसमेत ठूलो संख्यामा बेपत्ता भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै शव खोजी र व्यवस्थापनको काम जारी छ । तर, लामो समय बितिसक्दा पनि आफन्तको अवस्था थाहा हुन नसकेका परिवारमा चिन्ता र निराशा बढ्दै गएको छ ।
प्रभाकरको परिवार पनि अहिले त्यही अनिश्चितताको अवस्थामा छ । दशैंमा घर आउने, परिवारसँग तिहार मनाउने र बिहे गर्ने योजना बनाएका उनी कहाँ छन् भन्ने परिवारलाई अहिलेसम्म थाहा छैन । आमाबुवा छोराको खबरको प्रतीक्षामा छन् भने दाजुभाइ र दिदीबहिनी कुनै संकेत भेटिने आशामा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij