गोरखा : भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति शहीद लखन गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद्मा परेका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिकाले बाढीमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीपछि गाउँपालिकाका सात जना नागरिक सम्पर्कविहीन रहेको जनाउँदै गाउँपालिकाले उनीहरूका परिवारलाई खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रति परिवार ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।
यस्तै, बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट निश्चित दिन बराबरको रकम विपद् राहतका लागि योगदान गर्ने निर्णय गरिएको छ।
गाउँपालिकाका अनुसार अधिकृतस्तरका कर्मचारीले सात दिन, सहायकस्तरका कर्मचारीले पाँच दिन र श्रेणीविहीन कर्मचारीले दुई दिन बराबरको पारिश्रमिक योगदान गर्नेछन्।
त्यसैगरी सामुदायिक विद्यालयतर्फ विभिन्न तहका शिक्षकहरूले सात तथा पाँच दिन बराबरको पारिश्रमिक र विद्यालय सहायक, बालविकास सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता तथा विद्यालय सहयोगीहरूले दुई दिन बराबरको पारिश्रमिक योगदान गर्नेछन्।
उक्त योगदानबाट करिब ३० लाख ७५ हजार ९ सय २६ रुपैयाँ जम्मा हुने गाउँपालिकाले जनाएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको तर्फबाट जम्मा गरिने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij