Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढी प्रभावित त्रिशूली–३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार प्रयास जारी

बाढी प्रभावित त्रिशूली–३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार प्रयास जारी

नुवाकोट : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार प्रयासलाई तीव्रता दिएको छ।

सुरुङभित्र मानिस फसेको आशंका भएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेको हो।

नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रको स्थलगत रेकी गरेको थियो।

चिनियाँ उद्धार टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको पनि रेकी गरेको थियो। दुवै आयोजनाको स्थलगत अवस्थाबारे जानकारी लिएपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते चिनियाँ टोली रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो।

यता, माथिल्लो त्रिशूली–३ ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास थालेको थियो।

आज बिहानदेखि भैरवनाथ गणका थप १६ जना सैनिक टोली सुरुङ क्षेत्रमा परिचालन गरिएको छ। टोलीले सुरुङ क्षेत्रमा खन्ने तथा खोजी गर्ने काम गरिरहेको जनाइएको छ।

बाढीका कारण आयोजनाको सुरुङ प्रभावित भएपछि त्यहाँ मानिसहरू फसेको आशंका गरिएको छ। सुरुङभित्रको वास्तविक अवस्था यकिन गर्न नेपाली सेना र प्राधिकरणको टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट