Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ :  देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ।रूपन्देहीको गैडहवा गाउँपालिका-३ अहिरण्डिहवास्थित सडकमा मंगलपुरबाट अहिरण्डिहवातर्फ जाँदै गरेको लु.५१ प ९४९१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कपिलवस्तु शुद्धोधन गाउँपालिका-३ ठुलो सिसनिया बस्ने ४८ वर्षीया प्रभासी यादव छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१ ज १६६६ नम्बरको ईभी गाडीको ठक्करबाट आइतबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेस प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएको छ।
मोरङको मिक्लाजुङ गाउँपालिका-१ लेकडाँडास्थित सडकमा शुकेबाट जौबारीतर्फ जाँदै गरेको को.२ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-८ हंसारी बस्ने २६ वर्षीय शुक्र दमाई रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

बाराको निजगढ नगरपालिका-९ बकैया पुलस्थित सडकमा ना.५ ख ७८०५ नम्बरको ट्रकमा ना.४८ प ५१११ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय अविषेक चौधरी रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट