काठमाडौँ : भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ ।
सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन स्थलगत निरीक्षणबाट प्राप्त सुझावले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेष प्राविधिक टोली भारतबाट शनिबार विमानमार्फत नेपाल आएको थियो। टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत सामग्रीसमेत ल्याइएको थियो।
स्थलगत निरीक्षणपछि टोलीले दिएको सिफारिसका आधारमा आवश्यक उद्धार उपकरणसहितको विशेष उद्धार टोली आज नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। उक्त टोलीले बाढीका कारण प्रभावित तथा सुरुङ क्षेत्रमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली पक्षलाई सहयोग गर्नेछ।
यसैबीच, भारतले नेपालमा बाढी तथा विपद्पछिको उद्धार कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। भारतले मानवीय सहायता अन्तर्गत हालसम्म ५७।५ मेट्रिक टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ।
नेपालमा विनाशकारी आकस्मिक बाढी आएपछि भारतले उद्धार तथा राहत कार्यमा आवश्यक प्राविधिक सहयोग, स्वास्थ्यसम्बन्धी जनशक्ति र राहत सामग्री उपलब्ध गराउँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij