काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै हिमाली भू–भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी तथा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij