चितवन : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै भरतपुर–११ स्थित गणेशधाम संरक्षण तथा संवर्धन समितिले ‘गणेश उत्सव २०८३’ का उत्सवमूलक कार्यक्रम स्थगित गरेको छ।
समितिका महासचिव नवराज ढकालका अनुसार भदौ २९, ३० र ३१ गते आयोजना गर्ने तयारी गरिएको उत्सवका कार्यक्रम देश शोकमा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको हो।
तर भदौ २९ गते परेको गणेश चतुर्थी तथा ३० गतेको मंगल चतुर्थी भने भगवान श्रीगणेशको प्रादुर्भाव दिवसका रूपमा धार्मिक विधिअनुसार मनाइने समितिले जनाएको छ। यस अवसरमा सिद्धिविनायक गणेशको पूजा–आराधना, गणेश अथर्वशीर्ष पाठ, आरती तथा प्रसाद वितरणलगायत धार्मिक कार्यक्रम सादगी र मर्यादित रूपमा सञ्चालन गरिनेछ।
समितिका संयोजक दिनेशकुमार चुकेले ‘शोकको घडीमा उत्सवभन्दा मानवता र संवेदना ठूलो हो’ भन्ने भावनाका साथ उत्सवमूलक कार्यक्रम स्थगित गरिएको बताए।
समितिले गणेश चतुर्थीका दिन हुने धार्मिक कार्यक्रममा सहभागी भई विघ्नहर्ता भगवान श्रीगणेशको पूजा–आराधना गर्न सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूलाई गणेशधाममा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।
साथै, समितिले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij