काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ। श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ।
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो”, धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताए।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको उनले बताए।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ। आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ।
ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्लपूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।
खाइयो क्वाँटी, बाँधियो राखी
आजका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुँसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता रहिआएको धर्मशास्त्रविद् प्रा.डा. भट्टराईले बताए।
नेपालका तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर राखी पर्व मनाएका छन्। यसबाट दिदीबहिनी र दाजुभाईबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ।
यस अवसरमा आज काठमाडाैँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वर लगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ।
मनाइयो गुन्हु पुन्ही
नेवारी समुदायले भने श्रावण शुक्लपूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन्। विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ। आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन्।
बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन्। बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij