नवलपुर : सहकारी क्षेत्रमा अनुभवी, दक्ष र इमानदार व्यवस्थापकका रूपमा स्थापित नाम हो– माधव पौडेल। नवलपरासीको गैंडाकोट–८ मा जन्मिएका पौडेलले सहकारी क्षेत्रमा प्रवेश गर्दा यही क्षेत्रलाई आफ्नो करियर बनाउने कल्पना गरेका थिएनन्। तर संघर्ष, निरन्तरता र सेवाभावले उनलाई आज विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसम्म पुर्याएको छ।
सुरुवाती दिन सम्झिँदै पौडेल भन्छन्, “त्यसबेला के यही क्षेत्रमा टिक्न सकिएला ? भविष्य के होला ? भन्ने प्रश्नहरू मनमा आउँथे। कहिलेकाहीँ विदेश जाने वा सहज बाटो रोज्ने सोच पनि आउँथ्यो। तर सहकारी भनेको जागिर होइन, समुदाय परिवर्तन गर्ने अभियान हो भन्ने बुझ्दै गएँ।”
समुदायको विश्वास जित्दै अघि बढेका पौडेलले सहकारीलाई केवल आर्थिक कारोबारको माध्यम नभई सामाजिक परिवर्तनको अभियानका रूपमा विकास गरे। उनको नेतृत्वमा विकू बचत प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित सहकारीका रूपमा स्थापित भएको छ।
पौडेलले स्थानीय कालिका माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र समाजशास्त्रमा स्नातक तथा स्नातकोत्तर गरेका छन्। शिक्षासँगै उनले सहकारीको व्यवहारिक ज्ञानलाई निरन्तर विस्तार गर्दै लगे।
५० पैसाबाट सुरु भएको यात्रा
२०४८ सालमा साधारण सदस्यका रूपमा विकूसँग जोडिएका पौडेल २०५२/०५३ सालतिर कर्मचारीका रूपमा सहकारी प्रवेश गरेका थिए। त्यतिबेला संस्था निकै सानो थियो। दैनिक ५० पैसाबाट बचत संकलन गर्ने अभियान चल्थ्यो।
घरघर पुगेर बचत उठाउँदा धेरैले सहकारीलाई विश्वास गर्दैनथे। कतिपयले ‘५० पैसा उठाएर के परिवर्तन हुन्छ ?’ भन्दै आलोचना गर्थे। तर पौडेल र उनको टोलीले धैर्य र इमान्दारिताका साथ काम गर्दै गए।
आज त्यही संस्था दुई जना कर्मचारीबाट सुरु भएर २०२ जना कर्मचारीसहित देशकै व्यवस्थित सहकारी संस्थामध्ये एक बनेको छ।
उत्कृष्ट व्यवस्थापक पुरस्कारका पहिलो विजेता
पौडेलको योगदानको सम्मान गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रदान गर्ने उत्कृष्ट व्यवस्थापक पुरस्कारको पहिलो विजेता बन्न सफल भए। २०६७ सालमा प्राप्त उक्त सम्मान उनको लामो संघर्ष र समर्पणको महत्वपूर्ण उपलब्धि थियो।
प्रविधिमैत्री सहकारी निर्माणमा भूमिका
पौडेलको नेतृत्वमा विकूले सहकारी क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। संस्थाले एटीएम सेवा, मिस्ड कल बैंकिङ, मोबाइल ट्रेलर सेवाजस्ता नवीन अभ्यास सुरु गर्दै सदस्यलाई सहज र छरितो सेवा प्रदान गर्दै आएको छ।
उनकै नयाँ सोचबाट सुरु भएको ‘ऋण क्लिनिक’ कार्यक्रमले पनि सदस्यहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ। उक्त कार्यक्रममार्फत हजारौं सदस्यले वित्तीय परामर्श, ऋण व्यवस्थापन र उद्यम विकाससम्बन्धी सेवा प्राप्त गरेका छन्।
सफलताको आधार इमान्दारिता र सिर्जनशीलता
सहकारी क्षेत्रमा सफल हुन चाहनेहरूका लागि पौडेलको मुख्य मन्त्र छ– इमान्दारिता र सिर्जनशीलता। उनका अनुसार सहकारी विश्वासमा आधारित क्षेत्र भएकाले पारदर्शिता र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुन्छ।
“संस्थासँग मात्र होइन, आफैंप्रति पनि इमान्दार हुनुपर्छ। बदलिँदो समयअनुसार नयाँ सोच र प्रविधि अपनाउन सक्ने क्षमता आवश्यक छ,” उनी भन्छन्।
सेवा र अनुशासनमा आधारित जीवनशैली
पौडेलको व्यक्तिगत जीवन पनि अनुशासन र सेवाभावले भरिएको छ। पुस्तक पढ्ने, नियमित हिँड्ने, स्वास्थ्यप्रति सचेत रहने र सामाजिक गतिविधिमा सक्रिय रहने उनको जीवनशैलीको हिस्सा हो। उनी सितोरिया कराँतेका ब्ल्याक बेल्टसमेत हुन्।
आज सहकारी क्षेत्रमा उनको नाम केवल एक व्यवस्थापकको रूपमा होइन, विश्वास, नेतृत्व र परिवर्तनको उदाहरणका रूपमा स्थापित भएको छ। ५० पैसाको बचत यात्राबाट सुरु भएको उनको सहकारी अभियान अहिले हजारौं सदस्यको भरोसाको यात्रामा परिणत भएको छ।