Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पहिलाेपटक विराटनगर आइपुग्याे कार्गाे रेल विराटनगर

पहिलाेपटक विराटनगर आइपुग्याे कार्गाे रेल विराटनगर

कोलकाता : विराटनगर प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालनमा आएको छ। विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) अन्तर्गतको नेपाल कस्टम यार्डमा पहिलोपटक तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेको कार्गो रेल आइपुगेपछि पूर्वी नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अध्याय सुरु भएको मानिएको छ ।

कोलकाता बन्दरगाहबाट आएको पहिलो रेलमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थसहित ४० फिटका ४० वटा कन्टेनर विराटनगर भन्सारमा आइपुगेको हो ।  सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ, जसले ढुवानी प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र निगरानीयोग्य बनाउने अपेक्षा गरिएको छ । यसअघि तेस्रो मुलुकबाट रेलमार्फत आएका कन्टेनर वीरगञ्जसम्म मात्र ल्याइन्थे र त्यहाँबाट सडकमार्फत विराटनगर तथा पूर्वी नेपालका औद्योगिक क्षेत्रमा ढुवानी गर्नुपर्थ्यो ।

अब भने कोलकाता बन्दरगाहबाट आएका कन्टेनर सिधै विराटनगर भन्सारसम्म आइपुग्ने भएकाले ढुवानी समय, अतिरिक्त खर्च र झन्झट उल्लेख्य रूपमा घट्ने विश्वास गरिएको छ। विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । उद्योगीहरूका अनुसार कच्चा पदार्थ समयमै उपलब्ध हुने, आपूर्ति शृङ्खला व्यवस्थित बन्ने र उत्पादन लागत घट्ने भएकाले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अझ बलियो हुनेछ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्रत्यक्ष कार्गो रेल सञ्चालनसँगै ढुवानी लागत करिब ४० प्रतिशतसम्म घट्ने बताए। उनका अनुसार यसले उद्योगको लागत घटाउनुका साथै लगानी र व्यापारिक गतिविधि विस्तारमा पनि सकारात्मक प्रभाव पार्नेछ । नेपाल उद्योग परिसंघका अध्यक्ष पवनकुमार सारडाले उद्घाटन भएको तीन वर्षपछि सेवा सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्दै अब नियमित रूपमा कार्गो रेल सञ्चालन गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार प्रत्यक्ष रेल सेवाले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई सहज बनाउनेछ र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो मूल्यमा वस्तु प्राप्त गर्ने वातावरण सिर्जना हुनेछ । रेलमार्फत ढुवानी हुँदा सडक यातायातमा हुने ट्राफिक जाम, दुर्घटनाको जोखिम, इन्धन खर्च तथा मौसमजन्य अवरोध पनि न्यून हुने अपेक्षा गरिएको छ ।

यसले आयात–निर्यात प्रक्रियालाई थप प्रभावकारी बनाउँदै व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । भारतको बथनाहादेखि विराटनगरको बुधनगर (आईसीपी)सम्मको कार्गो रेल सेवाको औपचारिक उद्घाटन २०८० जेठ १८ (१ जुन २०२३) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट गरेका थिए। उद्घाटनका बेला परीक्षणका लागि आएको रेल त्यसपछि नियमित रूपमा सञ्चालनमा आएको थिएन । तीन वर्षपछि पहिलोपटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट