Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

महासंघको पाँचौँ स्थापना दिवसमा अध्यक्ष पराजुलीको प्रतिबद्धता : आत्मनिर्भर अर्थतन्त्र र व्यवसायीमैत्री वातावरणमा जोड

महासंघको पाँचौँ स्थापना दिवसमा अध्यक्ष पराजुलीको प्रतिबद्धता : आत्मनिर्भर अर्थतन्त्र र व्यवसायीमैत्री वातावरणमा जोड

काठमाडौं : नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा आत्मनिर्भर अर्थतन्त्र निर्माण, राष्ट्रिय औद्योगिकीकरण र व्यवसायीमैत्री वातावरण सिर्जनाप्रति महासंघको प्रतिबद्धता दोहोर्याउनुभएको छ।

स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष पराजुलीले महासंघले विगत पाँच वर्षदेखि साना, घरेलु, लघु तथा मझौला उद्योग–व्यवसायीहरूको हकहित संरक्षण गर्दै निजी क्षेत्रका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।

उहाँले “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण” महासंघको मार्गदर्शक सिद्धान्त रहेको बताउँदै स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत मात्रै देशको समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष पराजुलीले लगानीमैत्री वातावरण, सहज वित्तीय पहुँच, कर प्रणाली सुधार, बजार विस्तार तथा नीतिगत स्थायित्वजस्ता विषयमा निजी क्षेत्रले अझै चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि महासंघले सरकारसँग निरन्तर संवाद, नीतिगत पहल र व्यवसायीहरूको सामूहिक आवाजलाई सशक्त रूपमा उठाइरहने प्रतिबद्धता जनाउनुभयो। उहाँले साना तथा मझौला उद्यमीलाई नेपालको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै उनीहरूको संरक्षण, प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई महासंघले आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।

स्थापना दिवसका अवसरमा अध्यक्ष पराजुलीले महासंघको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, प्रदेश तथा जिल्ला समिति, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थापक तथा पूर्व नेतृत्वप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।उहाँले पाँचौँ स्थापना दिवसले उद्योगी–व्यवसायीलाई अझ संगठित, जिम्मेवार र परिणाममुखी बनाउँदै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरण तथा व्यवसायीहरूको अधिकार र हित संरक्षणमा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट