गलकोट : बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि आवासीय सुविधासहित ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ।होस्टेल स्थापना भएसँगै नगरपालिकाले बेवारिसे, बिरामी तथा अशक्त कुकुरको उद्धारसमेत सुरु गरेको छ।
बागलुङ बजारमा सामुदायिक कुकुरका कारण बढ्दो समस्या समाधान गर्ने उद्देश्यले नगरपालिकाले पाँच रोपनी क्षेत्रफलमा जग्गा व्यवस्थापन, आवास निर्माण तथा कुकुरलाई खेल्न मिल्ने खुला चौरसहितको संरचना तयार गरेको हो।
५० वटा कुकुर राख्न सक्ने क्षमताको होस्टेलमा पहिलो चरणमा २० वटा बेवारिसे, बिरामी तथा अशक्त सामुदायिक कुकुरलाई राखिएको नगरपालिकाले जनाएको छ।
koshi excellence award 2026
नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाका अनुसार बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा तारबारसहित होस्टेल निर्माण गर्न एक करोड रुपैयाँ खर्च गरिएको छ।
कुकुरको नियमित हेरचाहका लागि कर्मचारी खटाइएको छ भने खानपानको व्यवस्थासमेत गरिएको छ।नगरपालिका–३ सिम्लेस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको होस्टेलका लागि बागलुङ नगरपालिकाले ३५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ सहयोग गरेको हो। नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुर व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा ‘कुकुर होस्टेल’ निर्माण गर्ने योजना समावेश गरेको थियो।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सामुदायिक कुकुरको बन्ध्याकरण अभियानलाई पनि निरन्तरता दिइने र छाडा कुकुरलाई होस्टेलमा राखेर खानपानसहित व्यवस्थापन गरिने बताए।
उनका अनुसार घरपालुवा कुकुर बिरामी भएपछि सडकमा छाड्ने प्रवृत्तिका कारण बजार क्षेत्रमा यात्रु कुकुरको आक्रमणमा पर्ने तथा सवारी दुर्घटनाको जोखिम बढेकाले होस्टेल निर्माण गरिएको हो।
यसैबीच, नगरपालिकाले घरपालुवा कुकुरको दर्ता अनिवार्य गरेको छ। कुकुरको पहिचान, औषधोपचार तथा खोप व्यवस्थापनलाई व्यवस्थित बनाउन दर्ता प्रणाली लागू गरिएको पशु शाखाले जनाएको छ।
दर्ता भएका कुकुर सडकमा भेटिएमा सम्बन्धित घरधनीलाई जिम्मेवार बनाइने व्यवस्था गरिएको छ। कुकुर दर्ता गर्दा २०० रुपैयाँ शुल्क लाग्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij