Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आजदेखि बन्द भए चिया उद्योग

आजदेखि बन्द भए चिया उद्योग

काठमाडौं : भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् । भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन् ।

निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुने उनले बताए । ‘भारतको टि–बोर्डले नेपाली चिया आयातकर्ताहरूलाई अनावश्यक दु:ख दिएका कारण नेपाली चियाको बजार ठप्प भयो,’ गुप्ताले भने, ‘आजको दिनमा कुनै पनि चिया आयातकर्ता हामीसँग चिया लिन इच्छुक छैनन् ।’

भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरू पछि हटेका छन् ।

रिपोर्टमा केही सामान्य कमीकमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका उनले बताए । ‘हाम्रो चिया नबिकेपछि हामीले उद्योग बन्द गर्‍यौं, अब उद्योग किन चलाउने ? मुख्य समस्या नै यही हो,’ उनले थपे । संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारत पुगेको करिब २ लाख किलो चिया आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै कुहिने अवस्थामा रहेको सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले विज्ञप्ति नै जारी गरेर जानकारी गराइसकेको छ ।

चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ । उद्योग बन्द निर्णयसँगै पहाडका ५६ वटा र तराईका ३० वटा सीटीसी चिया उद्योग प्रभावित भएका छन् । उद्योग बन्द हुँदा यस क्षेत्रमा कार्यरत हजारौं मजदुर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन् । ‘दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू सबैभन्दा बढी मारमा पर्छन्,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘उनीहरूलाई र किसानको हरियो पत्तीको भुक्तानी दिन हामीसँग पैसा छैन, चिया नै नबिकेपछि पैसा कहाँबाट ल्याउने ? चिया क्षेत्रमा देखिएको यो संकट समाधानका लागि सरकारलाई विभिन्न माध्यमबाट जानकारी गराइएको र सरकारले छिट्टै कूटनीतिक पहल गर्नेमा आफूहरू आशावादी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij