धनगढी : भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली अनुमतिबिना नेपालको आकाशमा प्रवेश गरेको पाइएको छ। आइटीबीपीका महानिर्देशक कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणमा जाने क्रममा भारतीय हेलिकोप्टर नेपाली आकाश प्रयोग गर्दै उडेको पाइएको हो।
कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार एयर स्पेस भ्वाइलेसन’ हवाई क्षेत्र उल्लंघन मानिन्छ। गत मंगलबार दार्चुलाको आकाशमा उक्त हेलीकोप्टर उडेको हो।
यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग मौखिक रूपमा कुरा भइसकेको र आवश्यक परे पत्राचार गरिने जानकारी दिए।
‘हेलिकोप्टर नेपाली भूमिमा बसेको त होइन, नेपाली आकाश प्रयोग गरेको देखिन्छ। कहिलेकाहीँ प्राविधिक समस्याका कारण यस्तो हुन सक्ने भए पनि प्रशासनिक रूपमा अर्को देशको आकाश बिना अनुमति प्रयोग गर्न पाइँदैन। यसबारे हामीले भारतीय प्रशासनलाई यस्तो गर्न पाइँदैन’ भनेर र मौखिक रूपमा ध्यानाकर्षण गराएका छौँ। आवश्यकता हेरेर थप औपचारिक पत्राचारको प्रक्रिया पनि अगाडि बढ्नेछ,’उनले भने। भौगोलिक विकटता वा प्रतिकूल मौसमका कारण कहिलेकाहीँ उडान मार्ग परिवर्तन हुन सक्ने भए पनि सो दिन मौसम सामान्य थियो। उडानअघि पूर्वजानकारी दिनुपर्ने सामान्य प्रक्रिया भए तापनि भारतीय पक्षले यसबारे कुनै जानकारी नगराएको प्रशासनको भनाइ छ। यसबारे पिथौरागढस्थित भारतीय जिल्ला अधिकारी डिस्ट्रिक्ट मजिस्ट्रेटको कार्यालयलाई पनि औपचारिक रूपमा सोध्ने तयारी भइरहेको छ।
दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटनाहरु सार्वजनिक हुने गर्छन्। केहि समय अघि पनि दार्चुला सदरमुकाम खलंगाको आकाश हुँदै भारतीय हेलिकोप्टरहरू निरन्तर कालापानीतर्फ उडेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij