Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शनिधाम धार्मिक तथा सांस्कृतिक महोत्सव २०८३

शनिधाम धार्मिक तथा सांस्कृतिक महोत्सव २०८३

माडी : माडी–७, देवेन्द्रपुरस्थित शनिधाममा एघारौँ शनि जयन्ती उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। यही जेठ २ गते पर्ने शनि जयन्तीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित विशेष उत्सव मनाइने तयारी गरिएको हो।

शनिधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीका अनुसार कार्यक्रममार्फत माडीको पर्यटन प्रवद्र्धन गर्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। कार्यक्रममा चर्चित लोकदोहोरी तथा भजन गायक प्रकाश पराजुलीसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

उत्सवअन्तर्गत भजनकीर्तन, भजन प्रतियोगिता तथा दुनाटपरी गाँस्ने प्रतियोगिता समेत आयोजना गरिनेछ। हरेक वर्ष जेठको औँसीका दिन शनि जयन्ती मनाइँदै आएको परम्परा अनुसार यस वर्ष पनि शनिदेवप्रति श्रद्धा अर्पण गर्दै पूजा–अर्चना तथा विविध धार्मिक गतिविधि गरिने समितिले जनाएको छ।

नेपालमा शनि जयन्तीको औपचारिक सुरुवात विसं २०७४ जेठ ११ गते माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित श्री दक्षिण सोमेश्वर कालिका धार्मिक समिति शनि मन्दिरबाट गरिएको थियो। त्यसयता हरेक वर्ष निरन्तर रूपमा शनि जयन्ती उत्सव मनाइँदै आएको छ।

शनि देवलाई नवग्रहमध्ये शक्तिशाली ग्रह मानिन्छ। धार्मिक विश्वासअनुसार उनी यमराज, यमुना र भद्राका भाइ तथा सूर्यकी पत्नी छायादेवी (सुवर्ण)का पुत्र हुन्। शनिबार शनि देवको विशेष वार मानिन्छ। नेपाल र भारतका विभिन्न स्थानमा शनिदेवको पूजा–अर्चना गरी शनि जयन्ती धुमधामसँग मनाइन्छ।

शनिधामलाई नमुना धार्मिक गन्तव्यका रूपमा विकास गरिएको बताउँदै अध्यक्ष सुवेदीले मन्दिर परिसरमा गणेश, शिव, देवी, भैरव, १०८ शिवलिङ्ग, पशुपतिनाथ, हनुमान, श्रीराधाकृष्ण र भगवान गौतम बुद्धका मूर्तिहरू स्थापना गरिएको जानकारी दिए। साथै, माडी भ्यू प्वाइन्ट, जोर साल तथा काठबाट निर्मित माछा, गोहीलगायतका आकर्षण पनि यहाँ अवलोकन गर्न सकिने उनले बताए।

उत्सवलाई व्यवस्थित र सफल बनाउन सुदर्शन सुवेदीको संयोजकत्वमा १२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा भुवानीप्रसाद आचार्य र सचिवमा जगतप्रसाद अधिकारी चयन भएका छन्। सदस्यहरूमा रेवती पौडेल, कमला काफ्ले, रमाकान्त सापकोटा, बाबुराम सुवेदी, एकनारायण पौडेल, गणेश अधिकारी, डिल्लीराम च्वाईं, खेमबहादुर रानाभाट र गोपाल खनाल रहेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट