काठमाडौं : गोरखा जिल्लाको मुग्लिङपारि अवस्थित प्रसिद्ध त्रिवेणी भगवतीको अक्षय जलकुण्डबाट विधिपूर्वक संकलित अभिमन्त्रित पवित्र जल मनकामना देवीमा अर्पण गर्दै यस वर्षको पहिलो वर्षबन्धन पूजा (गुठी पूजा) सुरु गरिएको छ।
काठमाण्डौ झ्वाबहालका तान्त्रिक वज्रयान बौद्ध गुरुहरूको उपस्थितिमा सम्पन्न विशेष अनुष्ठानमार्फत त्रिवेणीको पवित्र जलले मनकामना देवीको महास्नान गराइएको हो। परम्पराअनुसार वर्षमा दुई पटक—बैशाख र कात्तिक महिनामा—यो विशेष पूजा आयोजना गरिन्छ। आज सम्पन्न विधिमा त्रिवेणी मन्दिरका पूजारी प्रेमकुमार गुरुङले त्रिवेणी भगवतीको अक्षय जलकुण्डबाट ल्याइएको अभिमन्त्रित जलको घडा मनकामना मन्दिरका मूल पूजारी ईन्सान थापा मगरलाई हस्तान्तरण गर्दै पूजाको विधिवत् आरम्भ गराउनुभएको थियो।
प्राचीन तान्त्रिक परम्पराअनुसार वज्रयान बौद्ध गुरुहरूले मात्र सञ्चालन गर्ने वर्षबन्धन पूजाले मनकामना भगवतीको शक्ति, संरक्षण तथा क्षेत्रीय दिव्य ऊर्जालाई पुनः जागृत र नवीकरण गर्ने धार्मिक विश्वास रहेको छ। लोककिंवदन्तीअनुसार कुनै समयमा मनकामना देवीको शीलाबाट निरन्तर पसिना बग्न थालेपछि ठूलो दैवी संकटको संकेत मानिएको थियो। त्यसपछि काठमाण्डौ झ्वाबहालका तान्त्रिक वज्रयान गुरुहरूले त्रिवेणीको जललाई मन्त्रसंस्कार गरी विशेष तान्त्रिक विधिबाट अभिषेक गरेपछि उक्त संकट टरेको विश्वास गरिन्छ। यही घटनापछि त्रिवेणीको पवित्र जल मनकामनामा अर्पण गर्ने परम्परा सुरु भएको जनविश्वास छ।
धार्मिक मान्यताअनुसार त्रिवेणीको जलले अभिषेक गरेपछि मात्र मनकामना देवीको पूजा पूर्ण हुने परम्परा आजसम्म जीवित रूपमा निरन्तर चल्दै आएको छ। त्रिवेणी र मनकामनाबीचको यो आध्यात्मिक सम्बन्ध श्रद्धा, शक्ति, तन्त्र–परम्परा, वज्रयान–शाक्त संस्कार तथा अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण प्रतीकका रूपमा सम्मानपूर्वक संरक्षण हुँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij