जनकपुरधाम : चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहको अगुवाइमा मिथिला नगरी जनकपुरधाममा पनि पाँच तारे होटल निर्माण सुरु भएको छ। जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा सोमबार होटल मिथिला हस्पिटालिटीको भूमिपूजन गरिएको छ।
‘हामी चार जना व्यवसायी साथीहरु मिलेर यो प्रोजेक्ट अघि बढाएका छौं, जनकपुरका लागि यो पहिलो पाँच तारे होटल हुनेछ’ व्यवसायी शाहले भने ‘ २ अर्बको अनुमानित परियोजना सुरु भएको छ, अपेक्षा र कामना गरौं राम्रो हुनेछ।’ होटलमा शाहसहित पूर्वबैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा, सुदीप चौधरी, उदयकान्त झाको पनि लगानी रहेको छ।
तीन वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको यो होटल करिब २ लाख वर्गफिट जग्गामा फैलिएको छ। होटलको निर्मित क्षेत्रफल १ लाख २ हजार वर्गफिट रहनेछ। होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ।
मिथिला हस्पिटालिटीको भूमिपूजन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रतिनिधिसभाका सदस्य मनिष झा र व्यापारी उपेन्द्र महतोलगायत हस्पिटालिटीका सञ्चालकले संयुक्त रुपमा गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij