काठमाडौं : व्यवसायिक घरना विशाल ग्रुप र एभरेष्ट ग्रुपले सञ्चालन गरिरहेको यती ब्रुअरी लिमिटेडको बियर व्यापार बढ्दै गएको छ।
एक वर्षमा यती ब्रुअरीको बियर व्यापार १७ प्रतिशत बढेर सात अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुगेको छ। २०२४ मा उद्योगको बियर व्यापार छ अर्ब ७१ करोड ६० लाख रुपैयाँ थियो। एक वर्षमा यती ब्रुअरीका बियर व्यापार एक अर्ब १६ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। चालू वर्षको छ महिनामा यती ब्रुअरीले चार अर्ब २० करोड ४० लाख रुपैयाँबराबरको बियर व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२३ मा यतीले छ अर्ब ६७ करोड ९० लाख रुपैयाँबराबरको बियर व्यापार गरेको थियो। उद्योगको व्यापार वृद्धिमा अर्ना बियरको ठूलो योगदान रहेको छ। कूल व्यापारमा अर्ना ८ बियरको हिस्सा ६३ प्रतिशत रहेको यती ब्रुअरीले जनाएको छ। अर्नाको बिक्री पनि २५ प्रतिशत बढेको छ। इबिटा प्रोफिट मार्जिन पनि बढेर १०.१५ प्रतिशत पुगेको छ। यसअघि ६.८४ प्रतिशत मात्र थियो। यो वर्षको छ महिनामा बढेर १२.७२ प्रतिशत पुगेको छ।
मार्जिनमा भएको सुधार मुख्यतया उच्च मात्राबाट प्राप्त हुने सञ्चालन लाभ, प्रमुख कच्चा पदार्थको लागतमा मध्यमता, विशेष गरी बोतलको मूल्य, बिक्री र वितरण खर्चमा गरिएको नियन्त्रणले सहयोग पुर्याएको यतीले जनाएको छ। उद्योगको नगद सञ्चय पनि सुदृढ भएको छ। आर्थिक वर्ष २४ मा २१ करोड ८० लाख रुपैयाँबाट आर्थिक वर्ष २५ मा कुल नगद सञ्चय ४७ करोड रुपैयाँ पुगेको छ। विशाल समूहको नेपालमा व्यापार, उत्पादन, आतिथ्य, बिमा र बैंकिङ लगायत विविध क्षेत्रहरूमा बलियो उपस्थिती रहेको छ। यसैगरी एभरेष्टको होटल, जलविद्युत, कागजलगायतमा लगानी छ। यती ब्रुअरीले अर्नाका साथै यती, शिखर, बाइबी र किङफिशर बियर उत्पादन गर्दै आएको छ। बिस्तारै नेपालभरि आफ्नो भौगोलिक पहुँच विस्तार गरेको छ भने भारत, जापान, अष्ट्रेलिया र अमेरिकालगायत बजारहरूमा पनि बियर निर्यात गरिरहेको छ।
नेपालमा किङफिसर ब्रान्डको उत्पादन र वितरणको लागि युनाइटेड ब्रअरिज लिमिटेडसँगको यसको सहकार्यले ब्रान्ड बलका साथै पोर्टफोलियो विविधीकरणमा थप योगदान पुर्याएको छ। यती ब्रअरी सन् २०१३ मा स्थापना भएको हो। सन् २०२२ मा यती ब्रुअरीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरिएको हो। उद्योगले सन् २०१७ मार्चदेखि व्यावसायिकरुपमा बियर उत्पादन सुरु गरेको हो। जसको प्रारम्भिक स्थापित क्षमता प्रतिवर्ष एक करोड तीन लाख लिटर थियो। पछि चरणबद्ध रूपमा बढाएर वार्षिक चार करोड ३० लाख लिटरमा विस्तार गरिएको छ। यती ब्रुअरीमा सञ्जिव सराफको ३३.३३,जयजीव सराफको ११.६६ र विशाल अग्रवाल ६.८६ प्रतिशत स्वामित्व रहेको छ। उद्योगले तीन अर्ब १९ करोड ४४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। ए थ्री प्लास रेटिङ स्कोर पाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij