Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

सुर्खेत :  प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ।प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।

यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।

कर्णालीभर ९० उम्मेदवारको जमानत जफत

प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए ।जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट